कपिलवस्तु÷अर्घाखाँची, साउन ११
— सन्धिखर्क नगरपालिका–११, डिभर्ना जोगिमारे निवासी नेपाल सरकारका सेवा निवृत्त उपसचिव खिमानन्द भुसालको काठमाडौंस्थित आफ्नै घरको छतबाट लडेर निधन भएको छ।
प्राप्त जानकारी अनुसार आइतबार साँझ करिब ५ः३० बजे छतबाट एक्कासि लडेपछि उहाँ गम्भीर घाइते हुनुभएको थियो। घटनापछि उपचारको प्रयास गरिए पनि उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। घटनाको विस्तृत कारणबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान अघि बढाइरहेको बताइएको छ।
भुसाल लामो समय नेपाल सरकारको निजामती सेवामा रही विभिन्न जिम्मेवारी निर्वाह गर्दै बाणगंगा, सन्धिखर्क लगायत नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पनि कार्यरत रहनुभएको थियो। प्रशासनिक इमानदारी, सरल व्यवहार र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताका कारण उहाँ सहकर्मी, जनप्रतिनिधि तथा स्थानीय समुदायबीच सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।
उहाँको असामयिक निधनको खबर सार्वजनिक भएपछि प्रशासनिक क्षेत्र, स्थानीय तह, शुभेच्छुक तथा आफन्तजनमा गहिरो शोक छाएको छ। सामाजिक सञ्जालमार्फत उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै धेरैले राष्ट्रसेवामा उहाँले पु¥याएको योगदानको स्मरण गरेका छन्।
स्वर्गीय भुसालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।










प्रतिक्रिया