लक्ष्मण प्रसाद बेल्बासे
वाणगंगा (कपिलवस्तु), साउन ११
वन संरक्षणलाई काठ–दाउरा उत्पादनमा सीमित नराखी स्थानीय आर्थिक विकास, हरित उद्यम, सामाजिक उत्तरदायित्व र जैविक विविधता संरक्षणसँग जोड्न सकिए सामुदायिक वन स्थानीय समृद्धिको प्रभावकारी आधार बन्न सक्छ भन्ने उदाहरण कपिलवस्तुको वाणगंगा नगरपालिका–९ स्थित खुत्खुते सामुदायिक वन उपभोक्ता समूहले प्रस्तुत गरेको छ।
समूहको वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार वन संरक्षण, वैज्ञानिक वन व्यवस्थापन, हरित उद्यम, विपन्नमुखी कार्यक्रम तथा सामाजिक लगानी मार्फत समूहले सामुदायिक वनको अवधारणालाई व्यवहारमा सफलतापूर्वक रूपान्तरण गरेको छ।
समूहका अध्यक्ष भिमबहादुर पुनका अनुसार २०६६ सालमा १६५.५ हेक्टर क्षेत्रफलबाट सुरु भएको सामुदायिक वन तेस्रो कार्ययोजना संशोधनपछि २५३.५ हेक्टरमा विस्तार भएको छ। क्षेत्रफल विस्तारसँगै संरक्षण, पुनःउत्पादन र व्यवस्थापनका गतिविधि पनि थप व्यवस्थित र प्रभावकारी बनेका छन्।

हाल समूहमा २०३ घरधुरीका १,०६७ जना उपभोक्ता आबद्ध छन्। तीमध्ये ५४९ महिला र ५१८ पुरुष छन्। सामाजिक संरचनाअनुसार ४५ दलित, ७३ आदिवासी जनजाति र ८५ अन्य समुदायका घरधुरी सहभागी छन्। आर्थिक वर्गीकरणमा २० घरधुरी उच्च, १५८ मध्यम र २५ घरधुरी न्यून आय वर्गमा परेका छन्। समूहले विशेषगरी न्यून आय भएका परिवारलाई लक्षित गरी आयआर्जन तथा जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष पुनले जानकारी दिए।
वन क्षेत्रमा साल, अस्ना, खयर, सिसौजस्ता काष्ठजन्य प्रजातिका साथै हर्रो, बर्रो, अमला लगायतका गैरकाष्ठ वन पैदावार प्रशस्त पाइन्छ। पाटेबाघ, चितुवा, भालु, बँदेल, दुम्सी तथा विभिन्न चराचुरुङ्गीको बासस्थानका रूपमा समेत यो वन जैविक विविधताको दृष्टिले महत्वपूर्ण मानिन्छ।
जैविक विविधताको संरक्षणलाई प्राथमिकतामा राख्दै समूहले अग्निरेखा निर्माण, वन सरसफाइ, सुख्खा मौसममा अतिरिक्त वन हेरालुको व्यवस्था, पुनःउत्पादन क्षेत्रको तारबार तथा नेटजालीबाट संरक्षण र मिचाहा प्रजाति नियन्त्रणका कार्यक्रम सञ्चालन गरेको छ। वैज्ञानिक वन व्यवस्थापन प्रणाली अनुसार ढलापडा काठ तथा दाउरा सङ्कलन, छपान र थिनिङ कार्यसमेत नियमित रूपमा भइरहेको प्रतिवेदनमा उल्लेख छ।

वनबाट प्राप्त स्रोतलाई स्थानीय रोजगारी र उद्यमसँग जोड्ने उद्देश्यले समूहले ‘एक सामुदायिक वन, एक लघुउद्यम’ कार्यक्रमअन्तर्गत दुना–टपरी उत्पादन गर्ने मेसिन सञ्चालनमा ल्याएको छ। बाँसजन्य सामग्री उत्पादन तथा बिक्रीलाई पनि निरन्तरता दिइएको छ, जसले स्थानीय स्तरमा हरित उद्यम प्रवद्र्धनमा टेवा पुगेको छ।
त्यसैगरी घुम्ती कोष मार्फत बाख्रा पालन, बेसार खेती तथा माछापालनलाई प्रोत्साहन गरिएको छ। माछा पोखरी मर्मत, भुरा तथा दानाको व्यवस्थासँगै डिभिजन वन कार्यालयको सहकार्यमा नदी किनारमा सुक्खा ढुङ्गाको टेवा पर्खाल निर्माण गरी नदी कटान नियन्त्रण र प्राकृतिक स्रोत संरक्षणका कार्यक्रमसमेत सञ्चालन भएका छन्।
समूहले वनबाट प्राप्त आम्दानीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै जटिल रोगका बिरामीलाई आर्थिक सहयोग, सुत्केरी आमा तथा नवजात शिशुलाई पोषण सामग्री वितरण, स्वास्थ्य आमा समूहलाई सहयोग लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
शिक्षा क्षेत्रमा बालविकासदेखि माध्यमिक तहसम्मका विद्यालयलाई आर्थिक सहयोग, जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई पुरस्कार वितरण तथा भरतपुर आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ। ग्रामीण सडकमा ग्राभेल, सोलिङ तथा मर्मत, मन्दिर संरक्षण र हरित पार्क निर्माणजस्ता पूर्वाधार विकासमा समेत समूहले उल्लेखनीय लगानी गरेको छ।
चालु आर्थिक वर्षका लागि समूहले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, विपन्न परिवारका लागि आवास सहयोग, छात्रवृत्ति कार्यक्रम, वित्तीय साक्षरता, लैङ्गिक समानता सम्बन्धी तालिम तथा विद्युतीय कुटानी–पिसानी मिल सञ्चालनलाई प्राथमिकतामा राखेको जनाएको छ।
खुत्खुते सामुदायिक वन उपभोक्ता समूहको अभ्यासले सामुदायिक वन केवल प्राकृतिक स्रोत संरक्षणको माध्यम मात्र नभई स्थानीय आर्थिक विकास, सामाजिक न्याय र वातावरणीय दिगोपनको साझा आधार बन्न सक्ने स्पष्ट सन्देश दिएको छ। काठ तथा दाउराबाट प्राप्त आम्दानीलाई हरित उद्यम, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पुनःलगानी गर्ने अभ्यास सामुदायिक वन व्यवस्थापनको दिगो र अनुकरणीय मोडलका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
यदि योजनाबद्ध कार्यान्वयन, वित्तीय पारदर्शिता, सुशासन र समुदायको सक्रिय सहभागिता निरन्तर कायम रहन सके खुत्खुते सामुदायिक वन वाणगंगामात्र होइन, देशकै उत्कृष्ट सामुदायिक वन व्यवस्थापनको नमुनाका रूपमा स्थापित हुने पर्याप्त आधार देखिन्छ।










प्रतिक्रिया