खोज–अनुसन्धान

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दिए राजीनामा : भुमिहिनले पुर्जा पाउनै लाग्दा अबरुद्ध




कपिलवस्तु । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतमले पदबाट राजीनामा दिनुभएको छ। केही दिनयता राजधानी काठमाडौंमा रहनुभएका गौतमले बिहीबार दिउँसो राजीनामा दिनुभएको सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले जानकारी दिनुभयो।
घिमिरेका अनुसार गौतमले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिनुभएको हो। पछिल्लो समय नेपाल सरकारका सहसचिव तथा सचिव तहका कर्मचारीले राजीनामा दिने क्रम बढिरहेका बेला गौतम पनि केही दिनदेखि राजीनामाको विषयमा परामर्शमा रहनुभएको बताइएको छ।
गौतमले कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्लाको प्रशासनिक नेतृत्व सम्हाल्दै आउनुभएको थियो। उहाँको कार्यकालमा शान्ति–सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह तथा जिल्लामा देखिएका विभिन्न प्रशासनिक विषयमा समन्वय गर्दै काम गरिएको थियो।
यसैबीच, सरकारले प्रमुख जिल्ला अधिकारी गौतमलाई भूमि समस्या समाधानसम्बन्धी समितिको अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो। जिल्लाका विभिन्न स्थानीय तहमा भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया अघि बढिरहेका बेला उहाँले राजीनामा दिनुभएको हो।
विशेषगरी बाणगंगा नगरपालिकालगायतका स्थानीय तहमा पुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको अवस्थामा गौतमले पदबाट राजीनामा दिनुभएको विषयलाई चासोका साथ हेरिएको छ। पुर्जा वितरणका क्रममा प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर हुने महत्वपूर्ण भूमिका रहने भएकाले उहाँको राजीनामाले जारी प्रक्रिया अबरुद्ध भएको विषयमा स्थानीयस्तरमा चासो बढेको छ।
विश्वस्त स्रोतका अनुसार पुर्जा वितरणका लागि आवश्यक कागजी प्रक्रिया र हस्ताक्षरसम्बन्धी विषयमा गौतमले केही समय पर्खनुपर्ने धारणा राख्दै आउनुभएको थियो। यद्यपि, राजीनामाको मुख्य कारण यही विषय भएको हो वा अन्य प्रशासनिक तथा व्यक्तिगत कारणले उहाँले पदबाट अलग हुने निर्णय लिनुभएको हो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक भएको छैन।
गौतम केही दिनदेखि काठमाडौंमै रहनुभएको र त्यहीँबाट राजीनामा दिएको बताइएको छ। उहाँको राजीनामा स्वीकृत हुने प्रक्रिया तथा कपिलवस्तुको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा सरकारले निर्णय गर्न बाँकी रहेको छ।
प्रमुख जिल्ला अधिकारीको राजीनामासँगै जिल्लामा सञ्चालन भइरहेका प्रशासनिक काम, विपद् व्यवस्थापन तथा भूमि समस्या समाधानसम्बन्धी प्रक्रियालाई निरन्तरता दिन तत्काल वैकल्पिक प्रशासनिक व्यवस्थापन आवश्यक देखिएको छ। विशेषगरी पुर्जा वितरणको तयारीमा रहेका स्थानीय तहका सेवाग्राहीले अब प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा चासो राखेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भने गौतमले राजीनामा दिएको पुष्टि गर्दै अन्य विषयमा विस्तृत जानकारी नभएको बताउनुभएको छ।

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६