लक्ष्मण सापकोटा जितपुर २१ साउन ।कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित जितपुर ४ नम्बर र आसपासको क्षेत्रमा फैलिएको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले चालू आर्थिक वर्ष २०८२/०८३ मा उल्लेख्य आर्थिक प्रगति हासिल गरेको छ। वनले काठ, दाउरा तथा अन्य वन पैदावारको बिक्री-वितरणबाट रु. ६ करोड ७३ लाख ४६ हजार ४९१ जम्मा आम्दानी गर्न सफल भएको छ।सामुदायिक वनले सार्वजनिक गरेको आर्थिक विवरण अनुसार आन्तरिक खपत तथा बिक्रीबाट रु. १ करोड २२ लाख ४७ हजार २३० आम्दानी भएको छ भने बाह्य बजारमा काठ तथा वन पैदावार बिक्री गरी रु. ५ ५० लाख ९९ हजार २६१ आम्दानी गरेको छ।
वन पैदावार बिक्रीबाट प्राप्त आम्दानीसँगै श्रृङ्गिघाट सामुदायिक वनले लुम्बिनी प्रदेश सरकारको सञ्चित कोषमा ठूलो रकम राजस्व वापत जम्मा गरेको छ। सरकारी नियम अनुसार आन्तरिक बिक्री आम्दानीको ५ प्रतिशतका दरले रु. ६ लाख १२ हजार ३६१ र बाह्य बिक्री आम्दानीको २५ प्रतिशतका दरले रु. १ करोड १६ लाख ३८ हजार १२६ गरी जम्मा रु. १ करोड २२ लाख ५० हजार ४८७ राजस्व बुझाइएको अध्यक्ष गणेश बहादुर सिंह ठकुरी (सुशील) ले जानकारी दिनु भयो ।
सामुदायिक वनका प्रतिनिधिहरूका अनुसार संस्थागत पारदर्शिता, वनको वैज्ञानिक व्यवस्थापन र उपभोक्ताहरूको सक्रिय सहभागिताका कारण वनको आम्दानीमा वृद्धि भएको हो। आन्तरिक आवश्यकता पूर्ति गर्दै बाँकी रहेका काठ-दाउरा बाह्य बिक्री गर्दा वनले राम्रो आम्दानी गर्न सफल भएको उपभोक्ता समूहले जनाएको छ।
प्राप्त आम्दानीको ठूलो हिस्सा प्रदेश सरकारलाई राजस्वका रूपमा योगदान गर्नुका साथै बाँकी रहेको रकम स्थानीय स्तरमा वन संरक्षण, अग्नि नियन्त्रण, जैविक विविधता संरक्षण र उपभोक्ताहरूको सामाजिक-आर्थिक उत्थानमा खर्च गरिनेछ। यसका साथै बाणगंगा र जितपुर क्षेत्रमा सडक, खानेपानी, शिक्षा र गरिबी निवारणका विभिन्न लक्षित कार्यक्रमहरूमा समेत यो बजेट विनियोजन गरिने जनाइएको छ।
कपिलवस्तु जिल्लामै अग्रणी सामुदायिक वनको रूपमा चिनिने श्रृङ्गिघाट सामुदायिक वनले हरित अर्थतन्त्रको निर्माण र प्रदेश सरकारको राजस्व अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको सब डिभिजन बन कार्यलय मोतिपुर कपिलवस्तुका प्रमुख एजाज अहमद अन्सारीले बताउनु भयो । उहाले श्रृङ्गिघाट प्रदेशको नमूना बन रहेको स्पस्ट पार्नु भयो । स्थानीय उपभोक्ताहरूको निरन्तर प्रयास र वैज्ञानिक वन व्यवस्थापन पद्धतिको प्रयोगले गर्दा आगामी दिनहरूमा आम्दानी र संरक्षण दुवै पक्षलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता वन समितिले व्यक्त गरेको छ।










प्रतिक्रिया