खोज–अनुसन्धान

बाणगंगामा शिक्षाको बजेट बढ्यो, स्थानीय पाठ्यक्रमदेखि पूर्वाधारसम्म प्राथमिकता



कपिलवस्तु, २६ साउन ।
बाणगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालय पूर्वाधार विकास, स्थानीय पाठ्यक्रम कार्यान्वयन तथा शिक्षक–कर्मचारीको प्रोत्साहनलाई प्राथमिकतामा राखेको छ।

नगरपालिकाले सार्वजनिक गरेको बजेट तथा कार्यक्रमअनुसार सङ्घीय सशर्त अनुदान र नगरपालिकाको आन्तरिक स्रोतबाट शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी करोडौँ रुपैयाँ विनियोजन गरिएको छ। विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि, विद्यालयको भौतिक अवस्था सुधार तथा शिक्षक र विद्यालयमा कार्यरत सहयोगी जनशक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले बजेट केन्द्रित गरिएको नगरपालिकाले जनाएको छ।

शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिकतर्फ प्रारम्भिक बालविकास शिक्षकका लागि थप तलब, भत्ता तथा पारिश्रमिकमा रु. ७८ लाख, विद्यालय सहयोगीका लागि रु. ६२ लाख ४० हजार र विद्यालय सहायक (लेखापाल)का लागि रु. २३ लाख ४० हजार विनियोजन गरिएको छ। बालमैत्री सहजकर्ता प्रोत्साहन तथा पारिश्रमिक अनुदानका लागि रु. २२ लाख ८८ हजार छुट्याइएको छ।

शैक्षिक गुणस्तर सुधारका लागि विषयगत शिक्षण सहयोग अनुदानलाई पनि प्राथमिकता दिइएको छ। सङ्घीय सशर्त अनुदानअन्तर्गत माध्यमिक तह (कक्षा ९–१०) मा अङ्ग्रेजी शिक्षणका लागि रु. २८ लाख ३२ हजार, गणितका लागि रु. ८ लाख ९ हजार र विज्ञानका लागि रु. ४ लाख ५ हजार विनियोजन गरिएको छ।

त्यस्तै, आधारभूत तह (कक्षा ६–८) मा अङ्ग्रेजी शिक्षण सहयोगका लागि रु. २९ लाख ७ हजार, गणितका लागि रु. ८ लाख ३१ हजार र विज्ञानका लागि रु. ४ लाख १५ हजार बजेट छुट्याइएको छ। विषयगत शिक्षक अभाव तथा सिकाइ उपलब्धिमा सुधार ल्याउन यस्तो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक विकासलाई समेत विशेष प्राथमिकता दिएको छ। ‘हाम्रो बाणगङ्गा’ स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि ८ सम्म लेखन, विकास तथा प्रबोधीकरणका लागि रु. १४ लाख विनियोजन गरिएको छ। कक्षा १–५ को पाठ्यपुस्तक छपाइका लागि रु. १० लाख र कक्षा ६–८ का लागि रु. ७ लाख छुट्याइएको छ।

यसैगरी कक्षा १–५ को स्थानीय पाठ्यक्रम संशोधन तथा परिमार्जनका लागि रु. ४ लाख र आन्तरिक विद्यार्थी मूल्याङ्कन पुस्तिका छपाइका लागि रु. ५ लाख विनियोजन गरिएको छ। स्थानीय आवश्यकता र नगरको सामाजिक, सांस्कृतिक तथा भौगोलिक अवस्थासँग जोडिएको पाठ्यक्रमलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना छ।

विद्यार्थीलाई शैक्षिक पहुँचमा सहयोग पुर्‍याउन छात्रवृत्तिका लागि पनि बजेट व्यवस्था गरिएको छ। सङ्घीय सशर्त अनुदानअन्तर्गत आवासीय तथा गैरआवासीय छात्रवृत्तिका विभिन्न शीर्षकमा रु. २६ लाख ६९ हजार, रु. ७ लाख ६२ हजार र रु. ३ लाख ८१ हजार विनियोजन गरिएको छ।

विद्यालयको भौतिक पूर्वाधार विकासतर्फ स्वीकृत गुरुयोजनाका आधारमा साझेदारीमा सञ्चालन हुने विभिन्न आयोजनाका लागि रु. ३९ लाख, रु. ११ लाख र रु. ६ लाखका कार्यक्रम तय गरिएको छ। उच्च शिक्षा तथा विशेष पूर्वाधारतर्फ जनज्योति माध्यमिक विद्यालय, मोतीपुरको स्तरोन्नतिका लागि रु. १ करोड २० लाख तथा सिद्धार्थ क्याम्पसको पूर्वाधार निर्माणका लागि रु. २० लाख विनियोजन गरिएको छ।

नगरपालिकाले शैक्षिक क्षेत्रसँग जोडिएका सामुदायिक तथा धार्मिक संस्थालाई समेत बजेटमार्फत समेटेको छ। सामुदायिक पुस्तकालय अनुदानका लागि रु. ४ लाख र धार्मिक विद्यालय अल फलाह, नौगैयाका लागि रु. ३ लाख विनियोजन गरिएको छ।

त्यस्तै शिक्षक, विद्यार्थी तथा प्रधानाध्यापक सम्मान कार्यक्रमका लागि रु. २ लाख र शैक्षिक क्यालेन्डर निर्माणका लागि रु. १ लाख बजेट छुट्याइएको छ।

बाणगंगा नगरपालिकाले शिक्षा क्षेत्रलाई नगरको समग्र विकास र समृद्धिको आधारका रूपमा लिँदै बजेट तथा कार्यक्रम निर्माण गरेको जनाएको छ। स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन, विषयगत शिक्षण सहयोग, विद्यार्थीलाई छात्रवृत्ति, शिक्षक–कर्मचारी प्रोत्साहन तथा विद्यालयको भौतिक पूर्वाधार विकासमा गरिएको लगानीले नगरको शैक्षिक गुणस्तर सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

नगरपालिकाको आगामी कार्यक्रमले ‘गुणस्तरीय शिक्षा, सक्षम जनशक्ति र समृद्ध बाणगंगा’ निर्माणको आधार तयार गर्ने विश्वास गरिएको छ।

प्रकाशित : २६ श्रावण २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६