ब्रेकिंग न्युज

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा



बागलुङ, १ भदौः

धवलागिरि बहुमुखी क्याम्पस बागलुङले विद्यार्थी आकर्षित गर्न छात्र तथा छात्राका लागि छात्रावास सुविधा विस्तार गरेको छ । क्याम्पसले होस्टेलको पूर्वाधार निर्माणमा लगानी विस्तार गर्दै लगेको छ । क्याम्पसले विगत तीन वर्षदेखि छात्राका लागि छात्रावास सुविधा उपलब्ध गराउँदै आएको थियो । विद्यार्थी सङ्ख्या घट्दै गएपछि क्याम्पसले नयाँ विद्यार्थी आकर्षित गर्न पुरुष छात्रावास निर्माण गरिरहेको क्याम्पस प्रमुख डा सुदर्शन सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयको सहयोगमा रु तीन करोड ५० लाखको लागतमा ७० जना विद्यार्थी बस्न मिल्ने पुरुष छात्रावास निर्माण भइरहेको छ । भवनको तेस्रो तलाको ढलान भइरहेको र निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । क्याम्पसले बाहिरी जिल्लाबाट आउने विद्यार्थीलाई लक्षित गरी आवासीय सुविधा विस्तार गरेको हो । बागलुङसहित मुस्ताङ, म्याग्दी र पर्वतका विद्यार्थीले क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका छन् । क्याम्पस प्रमुख सिलवालका अनुसार तीन वर्षअघि रु तीन करोडको लागतमा निर्माण गरिएको छात्रा छात्रावासमा हाल ४२ विद्यार्थीले सुविधा लिइरहेका छन् । नयाँ पुरुष छात्रावास निर्माण सम्पन्न भएपछि थप ७० विद्यार्थीलाई आवासीय सुविधा दिन सकिनेछ । उहाँले भन्नुभयो, “कोठा भाडामा लिएर अध्ययन गर्न नसक्ने दुर्गम क्षेत्रका जेहेन्दार तथा विपन्न विद्यार्थीलाई लक्षित गरी छात्रावास निर्माण गरिएको हो । त्रिभुवन विश्वविद्यालयको नियमअनुसार त्यसका लागि विद्यार्थी छनोट गरी निःशुल्क आवासीय सुविधा दिने व्यवस्था छ ।” क्याम्पसले छात्रावासमा बस्ने विद्यार्थीबाट सरसफाइ शुल्क मात्र लिँदै आएको छ । छात्रावासको सुविधा नहुँदा केही विद्यार्थी अध्ययनका लागि पोखरा तथा काठमाडौँ जाने गरेका थिए । छात्रावासको सुविधासँगै दुर्गम तथा विपन्न विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि सहज वातावरण बन्ने छात्रावास संयोजक हिरालाल रेग्मीले बताउनुभयो । धवलागिरि बहुमुखी क्याम्पसमा हाल करिब दुई हजार २०० विद्यार्थी अध्ययनरत छन् । विगतका वर्षको तुलनामा विद्यार्थी सङ्ख्या घट्दै गए पनि क्याम्पसले बिबीए कार्यक्रम थपेपछि विद्यार्थीको आकर्षण बढ्दो क्रममा छ । क्याम्पसमा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सङ्कायअन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालनमा छन् । –––

प्रकाशित : १ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६