मनाङ, २ भदौः
मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उद्घाटन गर्नुभयो । भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य जिम्मेवारीअनुसार जिल्लामा सरकारका निकायलाई कानुनी रायसल्लाह दिनु तथा सरकारको पक्षमा मुद्दा सञ्चालन गर्नु रहेको बताउनुभयो । उहाँले संविधानले प्रत्यायोजन गरेको अधिकारअनुसार महान्यायाधिवक्ताले जिल्लास्तरमा सरकारी वकिललाई अधिकार प्रत्यायोजन गर्ने र सोहीअनुसार सरकारी वकिलले कार्यसम्पादन गर्दै आएको जानकारी दिनुभयो । जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेले नयाँ भवन निर्माणपछि सदरमुकामस्थित सरकारी कार्यालयमा सेवा प्रवाह थप सहज हुने बताउनुभयो । उहाँले कतिपय सरकारी कार्यालयका आफ्नै भवन नभएको अवस्थामा सरकारी वकिलको कार्यालयका लागि सुविधासम्पन्न भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । नायब महान्यायाधिवक्ता लोकराज पराजुलीले सरकारी वकिलको कार्यालय न्याय प्रणालीको अभिन्न अङ्ग भएको बताउनुभयो । मनाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद पौड्यालले सेवा प्रवाहलाई सहज बनाउन सरकारी कार्यालयका भवन सेवाग्राहीमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले कार्यालयमा आउने सेवाग्राहीको सुरक्षा र सहज पहुँच सुनिश्चित गर्न आवश्यक संरचना तथा प्रविधिको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । भवन निर्माणका लागि विसं २०८१ माघ ११ गते रु चार करोड ८३ लाख १६ हजार २९ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले करिब चार महिनाअघि नै काम सम्पन्न गरी हस्तान्तरण गरेको हो । —










प्रतिक्रिया