गण्डकी

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण



बागलुङ, ५ भदौः

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत रु चार करोड १७ लाखभन्दा बढी बुझाएका छन् । ढोरपाटनमा वर्षमा दुई चरणमा सिकार हुने गर्छ । पहिलो चरणमा रु तीन करोड तीन लाख पाँच हजार र दोस्रो चरणमा रु एक करोड ४३ लाख ७४ हजार राजस्व बुझाइएको थियो । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो सिकार याम (असोज–मङ्सिर)मा ११ नाउर र आठ झारलको सिकार अनुमति दिइएको थियो । विभिन्न कम्पनीमार्फत आएका विदेशी सिकारीले आठ नाउर र पाँच झारलको सिकार गरेका थिए । राजस्व बुझाए पनि तीन नाउर र तीन झारलको सिकार हुन सकेन । दोस्रो सिकार याम (फागुन–वैशाख)मा १४ नाउर र १० झारलको सिकारका लागि अनुमति दिइएको थियो । सो याममा सिकारीले १३ नाउर र छ झारलको सिकार गरेका थिए । प्राविधिक कारणले एक नाउर र चार झारलको सिकार हुन नसकेको सुवेदीले बताउनुभयो । ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही नाउर र झारलको सिकार हुन सकेन । नेपालमा कानुनी रूपमा सिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा विदेशी सिकारी प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर सिकार गर्न आउने गर्छन् । नाउर र झारलको सिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट सिकारी आउने गरेका छन् । सिकारका लागि आवश्यक बन्दोबस्त र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरियालाई सम्बन्धित सिकार ब्लकमा खटाउने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको सङ्ख्या हेरेर हरेक वर्ष सिकारका लागि कोटा निर्धारण गर्छ । सिकार आरक्षलाई सातवटा ब्लकमा विभाजन गरिएको छ । त्यसमा सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह ब्लक छन् । व्यावसायिक विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्षमा पुग्ने गर्छन् । सिकारीले हेलिकप्टर, सहयोगी, बन्दोबस्त र अन्य खर्चसमेत आफैँ व्यहोर्ने गरेका छन् । एक सिकारीले १५ दिनको सिकार अवधिमा रु २० लाखदेखि रु ३५ लाखसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ । सिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जङ्गलमा रहने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी सिकारको कोटा र राजस्व दर निर्धारण गर्ने गरेको छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टरलगायत सबै खर्च जोड्दा एक जना सिकारीले मोटो रकम खर्च गर्ने गरेका छन् । हालसम्म नाउर र झारलको सिकारका लागि नेपाली सिकारीले प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ । विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । —

Powered By  Orson Infotech

प्रकाशित : ५ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६