कपिलवस्तु ९ भदौ । पाल्पामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गल्याङबाट साङ्लियातर्फ जाँदै गरेको ग।१ ज ६५३४ नम्बरको बोलेरो जीप गल्याङ नगरपालिका–८ करादीस्थित सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा गल्याङ–८ की २५ वर्षीया सदिक्षा थापा मगर पचभैया र गल्याङ–९ का ६० वर्षीय यमबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चार जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भइरहेको छ। जीप चालक प्रहरी नियन्त्रणमा छन्।
रूपन्देहीको रोहिणी गाउँपालिका–३ धकधई चोकबाट करिब ५ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–४ का २१ वर्षीय दर्पण यादव र २३ वर्षीय असिम आलम शेख रहेका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी रूपन्देही तिलोत्तमा नगरपालिका–१ घर भएका ३८ वर्षीय दीपक थापा पक्राउ परेका छन्। वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंको पक्राउ अनुमतिपछि फरार रहेका थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
नवलपरासी पश्चिमको सुनवल नगरपालिका–६ का ४८ वर्षीय नरबहादुर खत्री जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्। ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।
कपिलवस्तुमा दुई जना छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेला परेका छन्। शुद्धोधन गाउँपालिका–६ बिमियास्थित सडकमा मायादेवी गाउँपालिका–१ पकडीका ६० वर्षीय सुवास अग्रहरी मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै, बाणगंगा नगरपालिका–५ मटेरियामा ३० वर्षीय प्रकाश चौधरी सोही स्थानको कुलोमा मृत अवस्थामा फेला परेका छन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
९ भाद्र २०८३, मंगलबार










प्रतिक्रिया