कपिलवस्तु २१ भदौं
लामो समयदेखि गाउँब्लक जग्गाको स्वामित्व सम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका बुद्धभूमि नगरपालिका–७ र ८ का ७३० घरपरिवारले जग्गाधनी दर्ता प्रमाणपूर्जा (लालपूर्जा) प्राप्त गरेको पालिकाले जनाएको छ ।
बुद्धभूमि नगरपालिका र नापी कार्यालय, तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा आइतबार बिहान सम्पन्न गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण कार्यक्रममा वडा नं. ७ का ३३८ र वडा नं. ८ का ३९२ जना जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको हो।
कार्यक्रम बुद्धभूमि नगरपालिका–८ का वडा अध्यक्ष कपिलदेव तिवारीको अध्यक्षतामा तथा नगर प्रमुख केशवकुमार श्रेष्ठ र नापी कार्यालय, तौलिहवाका नापी प्रमुख जनक भण्डारीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद खनाल, वडा नं. ७ का अध्यक्ष शालिकराम यादव, वडा नं. २ का अध्यक्ष सुरजप्रताप राणा, वडा नं. ५ का अध्यक्ष रोमबहादुर थापा क्षेत्री, वडा नं. ९ का अध्यक्ष प्रमोद आचार्य लगायत जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सदस्य, सहजीकरण समितिका सदस्य, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता थियो।

गाउँब्लक जग्गाको लालपूर्जा प्राप्त भएपछि वर्षौंदेखि जग्गा प्रयोग गर्दै आए पनि स्वामित्वको औपचारिक प्रमाण नहुँदा विभिन्न समस्या भोग्दै आएका परिवारलाई ठूलो राहत पुगेको छ। जग्गाधनी दर्ता प्रमाणपूर्जाले उनीहरूको जग्गामाथिको कानुनी स्वामित्वलाई औपचारिकता दिनुका साथै जग्गा सम्बन्धी कारोबार तथा अन्य प्रशासनिक प्रक्रियालाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।
बुद्धभूमि नगरपालिकामा यसअघि वडा नं. ५ का ३३५, वडा नं. ६ का ६२० र वडा नं. १० का ७३१ घरपरिवारलाई गाउँब्लक जग्गाको लालपूर्जा वितरण भइसकेको छ।
वडा नं. ७ र ८ का थप ७३० घरपरिवारले लालपूर्जा पाएसँगै बुद्धभूमि नगरपालिकामा हालसम्म कुल २ हजार ४१६ घरपरिवार गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा प्राप्त गर्ने परिवारमा समेटिएका छन्।










प्रतिक्रिया