ब्रेकिंग न्युज

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन



काभ्रेपलाञ्चोक, २३ भदौः

काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । सरकारले भूमिहीनको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाएपछि जमिन पाउने आशामा उनीहरुले निवेदन दिएका हुन् । हालसम्म छ हजार ३२९ भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको जिल्लास्थित नापी कार्यालयले जनाएको छ । जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीनले निवेदन दिएको नापी कार्यालयका प्रमुख अशोक भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार कुल निवेदनमध्ये जिल्लाका भूमिहीन सुकुमवासी ७०७ , भूमिहीन दलित १८३ र अव्यवस्थित बसोबासी पाँच हजार ४३९ को तथ्याङ्क प्रविष्ट भइसकेको छ । सरकारले गत जेठको तेस्रो साता नयाँ जिल्ला भूमि समस्या समाधान समिति गठन गरेसँगै समितिले जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने काम अघि बढाएको थियो । समितिले जिल्लास्थित सङ्घीय तथा प्रदेशका सांसद, जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षसँग छलफल गरी छुट निवेदन माग गरिएको जनाइएको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले असार मसान्तभित्र जिल्लामा रहेका भूमिहीन सुकुमवासी, दलित तथा अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी निर्देशानुसार विवरण प्रविष्टिलगायतको काम भइरहेको बताउनुभयो । उहाँका अनुसार सरकारले एक हजार दिनमा भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिसक्ने लक्ष्यअनुसार नै जिल्लामा पनि काम भइरहेको छ । विगतमा छुटेका भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी प्रविष्ट गर्ने काम भइरहेको अधिकारीको भनाइ छ । “विवरण सङ्कलनका क्रममा विगतमा भएका त्रुटिलाई सच्याउँदै प्रक्रिया अघि बढाइएको छ, कसैले बदनियत राखेको पाइए कारबाही गर्नेछौँ”, अधिकारीले भन्नुभयो । —

प्रकाशित : २३ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६