ब्रेकिंग न्युज

लागुऔषध कारोबार बढेपछि सीमा नाकामा प्रहरीको कडाइ



कपिलवस्तु, २४ भदौ ।

कपिलवस्तुमा लागुऔषधको कारोबार तथा दुव्र्यसन बढ्दै गएपछि प्रहरीले नियन्त्रणका लागि निगरानी र कारबाहीलाई तीव्रता दिएको छ। विशेषगरी सीमावर्ती क्षेत्रबाट हुने लागुऔषधको ओसारपसार नियन्त्रण गर्न सीमा नाकामा थप कडाइ गरिएको प्रहरीले जनाएको छ।

लागुऔषध कारोबारी तथा दुव्र्यसनीको गतिविधि नियन्त्रण गर्न प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै विभिन्न स्थानमा सचेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएको छ। प्रहरीको निरन्तर निगरानी तथा कारबाहीका क्रममा गत आर्थिक वर्ष २०८२/८३ मा लागुऔषधसम्बन्धी ५९ वटा मुद्दा दर्ता भएका थिए। ती मुद्दामा ९२ पुरुष र ७ महिलासहित ९९ जना पक्राउ परेका थिए।

प्रहरीका अनुसार गत आर्थिक वर्षमा ४१ किलो २६५ ग्राम गाँजा, १४ किलो ४२७ ग्राम चरेस, २२७ ग्राम ९८५ मिलिग्राम ब्राउन सुगर, ६३ ट्याब्लेट नाइट्राभेट, १४९ ट्याब्लेट ट्रमाडोल र ६०७ क्याप्सुल स्पास्मो बरामद गरिएको थियो।

यस्तै, चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २१ गते सम्म लागुऔषधसम्बन्धी ११ वटा मुद्दामा १९ जना पक्राउ परेका छन्। सो अवधिमा १३० ग्राम गाँजा, ५ किलो २२५ ग्राम चरेस, ३ ग्राम १५० मिलिग्राम हेरोइन, १० किलो ३६४ ग्राम अफिम र १० ट्याब्लेट नाइट्राभेट बरामद गरिएको प्रहरीले जनाएको छ।

लागुऔषधको कारोबार तथा ओसारपसार नियन्त्रण गर्न विशेषगरी सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरी उपरीक्षक मनोहर कुमार भट्टले बताए। उनले सीमा नाकामा चेकजाँचलाई कडाइ गर्नुका साथै शंकास्पद गतिविधिमाथि विशेष निगरानी भइरहेको जानकारी दिए।

लागुऔषध नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै जिल्लाका १० वटै स्थानीय तहसँग छलफल गरी नियन्त्रणका लागि पहल भइरहेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए। उनका अनुसार लागुऔषध नियन्त्रणका लागि प्रहरीको कारबाहीसँगै स्थानीय तह, समुदाय, विद्यालय तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक छ।

प्रकाशित : २४ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६