ब्रेकिंग न्युज

तीजको दरखाने खर्च बाढीपीडितलाई



काभ्रेपलाञ्चोक, २८ भदौ

पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । पाँचखाल-३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन् । बाढी प्रभावितका लागि केही राहत होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबैनी-समूह’द्वारा गरिने दरखाने कार्यक्रमबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समुहको सदस्य सरस्वती भेटवालले बताउनुभयो । यसैगरी, नमोबुद्ध नगरका महिलाहरूले गत साता यस वर्षको तीज विशेष कार्यक्रम नगरी बाढीपीडितको सहयोगका लागि रु ९१ हजार ३४५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । महिलाहरूले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग गर्ने उद्देश्यले नगर महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको नेतृत्वमा रकम जम्मा गरेका हुन् । नगरको महिला सञ्जालले तीजको खर्च कटाएर कोषमार्फत पीडितलाई सहयोग गर्ने निर्णय गरेको थियो । भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३७ काभे्रपलाञ्चोकका नागरिक सम्पर्कविहीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका ४७ बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएको छ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मात्रामा जनधनको क्षति पुगेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त बाढीबाट हालसम्म एक हजार ३८५ को शव फेला परेको छ भने पाँच हजार १३० बेपत्ता भएका छन् । यस्तै, १३ हजार ६७६ को उद्धार गरिएको तथा सात हजार ६५५ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : २८ भाद्र २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६