खोज–अनुसन्धान

दल त्यागमा १० जनप्रतिनिधिको पद रिक्त, विजयनगरका २ जनप्रतिनिधि आयोगको सूचीमा परेनन्



कपिलवस्तु ३१ भदौ । निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको जनाएको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीअनुसार सम्बन्धित दलबाट प्राप्त विवरणका आधारमा पद रिक्त भएको सूचना सार्वजनिक गरेको हो।

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएर पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो। सोही आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त भएको आयोगले जनाएको छ।

आयोगको विवरणअनुसार मधेश प्रदेशका चार, कोशीका तीन, बागमतीका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको छ। यसमा विभिन्न स्थानीय तहका वडाध्यक्ष तथा दुई गाउँपालिकाका उपाध्यक्ष छन्। पालिका उपाधयक्ष तर्फ सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी र कोशी प्रदेशको खोटाङ जिल्ला अन्तर्गत बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईको पद पनि दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ ।

तर कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ६ का अध्यक्ष अनवर अली मुसलमानले एमाले त्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको समाचार सार्वजनिक भए पनि उनीहरूको नाम आयोगले सार्वजनिक गरेको पद रिक्तसम्बन्धी सूचीमा देखिएको छैन।

दुवै जनप्रतिनिधि रास्वपा प्रवेश गरेपछि नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम खनाल, झविलाल पोखरेल र डम्बर शर्मालगायतका नेताले भेटेर एमालेमै फर्काउन प्रयास गरेको बताइएको छ। तर उक्त प्रयास सफल नभएपछि पनि एमाले कपिलवस्तुले उनीहरूमाथि औपचारिक कारबाही गरेको वा दल त्यागसम्बन्धी निर्णय निर्वाचन आयोगमा पठाएको सार्वजनिक विवरण हालसम्म देखिएको छैन।

यसले विजय नगरका दुई जनप्रतिनिधिको हकमा एमालेले किन औपचारिक प्रक्रिया अघि बढाएन भन्ने प्रश्न उठेको छ। अन्य जिल्लामा दल परिवर्तन गरेका जनप्रतिनिधिको विवरण दलको केन्द्रीय निर्णयसहित आयोगमा पुगेपछि पद रिक्त भएको अवस्थामा विजय नगरको विषय भने अझै अन्योलमा छ।आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको जनाएको छ।

प्रकाशित : ३१ भाद्र २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६