ब्रेकिंग न्युज

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो



मुस्ताङ, ४ असोज

गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद् घटनापछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन सङ्ख्या घटेको पाइएको हो । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउन महिनामा दर्जनौँ पटक सडक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या ह्वात्तै घटेको प्रहरीको तथ्याङ्कले देखाएको छ । प्रहरीका अनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २७४ पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौमा ४७.७८ प्रतिशत पर्यटक कम हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी र मुस्ताङको सिमान प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरणअनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५ जना, सार्क ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ जना गरी ६१ हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । त्यसैगरी, चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी ३१ हजार ९८९ जना पर्यटक मुस्ताङ आएका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा रसुवा बाढीपछि भदौमा आन्तरिक १४ हजार १५२ (४६.१६) प्रतिशत र सार्क पर्यटकतर्फ १६ हजार ४३७ (५२.०५) प्रतिशत पर्यटक आगमनमा ह्रास आएको हो । तर, आन्तरिक र सार्क राष्ट्रको पर्यटक सङ्ख्या घट्दो रहेपछि अन्य राष्ट्रको पर्यटक भने अघिल्लो महिनाको तुलनामा बढेको पाइएको छ । अघिल्लो साउनमा १९३ जना अन्य मुलुकका पर्यटक मुस्ताङ आएकामा भदौमा भने थप १५५ जना वृद्धि हुँदै ३४८ जना अन्य राष्ट्रका विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गर्नुभयो । मुस्ताङमा चालु वर्षको साउन र भदौमा गरी ९३ हजार २५२ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरी निरीक्षक बस्यालका अनुसार साउन र भदौमा आन्तरिक ४७ हजार १५८, सार्क ४६ हजार ७१३ र अन्य राष्ट्रका ४४१ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । प्रहरी निरीक्षक बस्यालले भदौ १० गतेको रसुवा बाढी घटनाका कारण सबै नेपाली जनता शोकमा परेका कारण मुस्ताङमा पर्यटक कम भित्रिएको हुनसक्ने उल्लेख गर्नुभयो । गत आव २०८२÷८३ को साउनमा १९ हजार ७८१ र भदौमा २३ हजार २०५ पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । गत वर्षको साउन र भदौको तुलनामा चालु वर्षको साउन र भदौमा पर्यटकका सङ्ख्या वृद्धि भएको भए पनि चालु वर्षको साउनको तुलनामा भदौमा पर्यटक आगमन घटेको तथ्याङ्क छ । –––

प्रकाशित : ४ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६