ब्रेकिंग न्युज

नागरिकको स्वास्थ्य–सेवामा सहजता दिलाउँदै स्वास्थ्य संस्था



काभ्रेपलाञ्चोक, ७ असोज

बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय नागरिकको मोतियाबिन्दुको पहिचान तथा उपचारका लागि आँखा जाँच शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ । सम्झौतामा नगरका विभिन्न क्षेत्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरी मोतियाबिन्दुलगायतका आँखासम्बन्धी समस्या पहिचान गरी त्यससम्बन्धी बिरामीलाई उपचारको व्यवस्था मिलाइने जनाइएको छ । नगरप्रमुख टोकबहादुर वाइबा र अस्पतालका महासचिव हिरामणि शर्माले हस्ताक्षर गर्नुभएको उक्त सम्झौतापत्रमा नगरवासीको आँखाको परीक्षण तथा मोतियाबिन्दुको समयमै पहिचान र उपचारको अवसर उपलब्ध गराउने उद्देश्यले रहेको जनाइयो । विशेषगरी उमेर बढ्दै जाँदा देखिने मोतियाबिन्दुको समयमै पहिचान हुनसके उपचार सहज हुने भएकाले शिविरले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । “यस्तो सेवा अन्य स्थानीय तहमा पनि सञ्चालन गरिरहेका छौँ, यो अभियान निरन्तर हो”, शर्माले भन्नुभयो । यसअघि बनेपा नगरवासीलाई स्वास्थ्य–सेवामा सहजता दिलाउन चार स्वास्थ्य संस्थाले सम्झौता गरेका छन् । ती संस्थासँग नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश पोखरेलले प्रतिनिधिमूलक रुपमा सम्झौता गर्नुभएको छ । सम्झौताअनुसार अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, रेयुकाई एईको मासुनागा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रले बनेपाली नागरिकलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् । बनेपा नपा–११ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमा नगरभित्रका १८ वर्षमुनिका अपाङ्गता भएका बालबालिकाको उपचारका लागि नगरले आवश्यक समन्वय गर्नेछ । यस्तै बनेपामै अवस्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाबाट स्थानीय ‘स्थायी–नागरिक’लाई उपचारका क्रममा आवश्यक पर्ने रगत उपलब्ध गराउने तथा काभ्रे रक्तसञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गरिने सम्झौतामा जनाइएको छ । त्यस्तै बनेपा–६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा चालु आर्थिक वर्ष २०८३÷८४ का लागि मोतियाविन्दुको शल्यक्रिया, विद्यार्थीको दृष्टि परीक्षण तथा चश्मा वितरणमा सहुलियत दिने उल्लेख गरिएको छ । स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई आँखासम्बन्धी अभिमुखीकरण गराउनेसमेत व्यवस्था गरिएको छ । त्यस्तै, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा उपचारका क्रममा बिरामीले बिमाबाट प्राप्त गर्ने रकम, विपन्न नागरिकका रूपमा पाउने सुविधा तथा अन्य छुट वा सहुलियत कट्टा गरी बाँकी उपचार खर्चमध्ये आवश्यक कागजातका आधारमा प्रतिव्यक्ति करसहित बढीमा रु एक लाखसम्म नगर कार्यालयले व्यहोर्ने सम्झौतामा जनाइएको छ । यसैबीच बनेपास्थित शिर मेमोरियल अस्पतालसँग पनि मातृ–शिशु स्वास्थ्य तथा क्यान्सरलगायतका उपचार सेवाका लागि सम्झौता गरी नगरवासीलाई थप सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको नगरप्रमुख शाक्यले बताउनुभयो । उहाँका अनुसार नगरवासीलाई स्थानीय स्वास्थ्य संस्थासँग उपलब्ध नयाँ तथा आवश्यक स्वास्थ्य–सेवा सहज रूपमा उपलब्ध गराउन नगर तल्लीन छ । –––

Powered By Orson Infotech

प्रकाशित : ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६