ब्रेकिंग न्युज

्भारी वर्षाको पूर्व सूचनापछि बाणगंगामा विपद् पूर्व तयारी तीव्र नदी तथा तटीय क्षेत्रमा बसोबास गर्नेलाई सतर्क रहन आग्रह,



जोखिमका दिन अनावश्यक यात्रा नगर्न अपिल

कपिलवस्तु ७ असोज


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान सार्वजनिक गरेपछि बाणगंगा नगरपालिकाले विपद् व्यवस्थापन तथा पूर्वतयारीका गतिविधिलाई तीव्र बनाएको जनाएको छ।
सम्भावित भारी वर्षाको प्रभाव लुम्बिनी प्रदेश सहित कपिलवस्तु र बाणगंगा नगर क्षेत्रमा समेत पर्नसक्ने पूर्वसूचनालाई ध्यानमा राख्दै नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक बसेर सम्भावित जोखिम न्यूनीकरण तथा आपत्कालीन अवस्थामा उद्धार र राहतलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो ।
नगर प्रमुख एवं नगरस्तरीय विपद् व्यवस्थापन समितिका संयोजक चक्रपाणी अर्यालको अध्यक्षतामा नगरपालिकामा सम्पन्न बैठकमा नगरका सबै वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, इलाका प्रहरी कार्यालय पिपरा, सशस्त्र प्रहरी बल पिपरा, नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखा, नागरिक समाज, सञ्चार गृहका प्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख तथा सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रतिनिधिसहित सरोकारवालाको सहभागिता रहेको थियो।


बैठकले मौसम पूर्वानुमानलाई सामान्य रूपमा नलिई सम्भावित जोखिमप्रति पूर्वतयारी अपनाउन नगरवासीलाई आग्रह गरेको छ।

विशेषगरी बाणगंगा, कोइली, धिरी र कोठी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको जलस्तर बढ्नसक्ने सम्भावनाप्रति सचेत रहन अनुरोध गरिएको छ।


त्यस्तै नदी, खोला तथा कुलोमा काम गर्ने, माछा मार्ने, आवत जावत गर्ने वा अन्य कुनै कामका लागि पानीको बहाव नजिक पुग्नुपर्ने नागरिकले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। भारी वर्षाको समयमा पानीको बहाव अचानक बढ्नसक्ने भएकाले नदी तथा खोलामा प्रवेश नगर्न र जोखिमपूर्ण स्थानमा अनावश्यक रूपमा नजान नगरपालिकाले अनुरोध गरेको छ।


सम्भावित जोखिमका दिनमा सकेसम्म अनावश्यक बाहिरी यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र जोखिमयुक्त सडक तथा स्थानबाट आवत जावत नगर्न समेत नगरवासीलाई आग्रह गरिएको छ। घरपरिवारमा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त सदस्यको सुरक्षामा विशेष ध्यान दिन समेत अनुरोध गरिएको छ।


नगरपालिकाले सम्भावित विपद्को अवस्थामा नागरिक, सुरक्षा निकाय, रेडक्रस, राजनीतिक दल, सञ्चार क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने जनाएको छ।
विपद् आउनु अघि अपनाइने सामान्य सावधानीले ठूलो क्षति रोक्न सक्ने भएकाले मौसम सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, स्थानीय तह तथा सुरक्षा निकायका सूचनालाई पालना गर्न र जोखिम देखिएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न नगरपालिकाले अपिल गरेको छ।

प्रकाशित : ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६