कपिलवस्तु,८ असोज
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले कपिलवस्तुका १ सय ७९ जना नेता तथा कार्यकर्तामाथि पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। समितिका संयोजक परशुराम चौधरीद्वारा असोज ५ गते जारी ध्यानाकर्षणपत्रमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषित समाचारप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। पत्रमा कपिलवस्तुका १ सय ७९ जना नेता तथा कार्यकर्तामाथि कारबाही गरिएको भन्ने सार्वजनिक समाचारहरू निराधार, असत्य र कपोलकल्पित भएको दाबी गरिएको छ।
अनुशासन समितिले आफूले उक्त विषयमा कुनै निर्णय गरेको स्पष्ट नभएको जनाउँदै पार्टीको बदनाम गर्ने उद्देश्यले भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएको उल्लेख गरेको छ। समितिले यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न सम्पूर्ण पार्टी पंक्ति तथा आम नागरिकलाई आग्रहसमेत गरेको छ।ध्यानाकर्षणपत्रमा नेपाली कांग्रेस आफ्नो १५औँ महाधिवेशनको व्यापक तयारीमा जुटिरहेको उल्लेख गर्दै संवेदनशील समयमा पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र विभेदबाट मुक्त भई पार्टी संगठन निर्माण तथा महाधिवेशनको तयारीमा केन्द्रित हुन आग्रह गरिएको छ।केन्द्रीय अनुशासन समितिले पार्टीभित्रका आधिकारिक निर्णय र सूचनालाई आधार बनाउन आग्रह गर्दै अनधिकृत तथा भ्रमपूर्ण समाचारबाट प्रभावित नहुनसमेत अपिल गरेको छ ।
८ आश्विन २०८३, बिहिबार









प्रतिक्रिया