ब्रेकिंग न्युज

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार



बाँके, ९ असोजः

मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ । उद्धार गरिएका ती बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर ल्याइएका हुन् । सातमध्ये पाँचवटा बाघ र दुई बघेनी रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । बाँके, बर्दिया र चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा मान्छेमाथि आक्रमण गरी द्वन्द्व सृजना गरेपछि नियन्त्रणमा लिइएका बाघलाई बर्दियाको रमुवापुर र ठाकुरद्धारामा राखिएको निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले ती बाघमध्ये बच्चासमेत रहेको उल्लेख गर्दै २०७७ सालदेखि अहिलेसम्म दुई वर्षदेखि १२ वर्षसम्मका बाघलाई बर्दियाका विभिन्न बाघ खोरमा राखिएको बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत अजित तुम्वाहाङफेले मानव–वन्यजन्तु द्वन्द्वमा रहेका बाघ बाँके, बर्दिया र चितवनबाट स्थानान्तरण गरेर उद्धार गरिएको बताउनुभयो । तीमध्ये चितुवासमेत रहेको उल्लेख गर्दै उहाँले बाघलाई उद्धार गरेर राख्ने ठाउँको अभाव हुन थालेको बताउनुभयो । “अब बाघ उद्धार गरेर राख्ने ठाउँ पनि छैन, भएका सबै बाघ खोर भरिभराउ छ”, उहाँले भन्नुभयो । संरक्षण अधिकृत तुम्वाहाङफेका अनुसार यस वर्ष दुईवटा बाघ खोर व्यवस्थापन गर्ने लक्ष्य रहेको छ । उहाँले बाघको आहार पूरा गर्न एक दिन बिराएर सात केजी राँगाको मासु आपूर्ति गरिएको उल्लेख गर्दै सात बाघका लागि मात्रै वार्षिक रु आठ लाख २३ हजार २०० बराबरको लगानी भएको बताउनुभयो । तुम्वाहाङफेले निकुञ्जभित्र आहारा प्रजाति जरायो, चित्तललगायत वन्यजन्तुको चोरीसिकारी भइरहेको जानकारी दिँदै ठूला वन्यजन्तुकोे अपराध नभएको बताउनुभयो । नेपालमा उद्धार गरिएर राखिएका २० बाघ रहेका छन् । ती बाघलाई बाँके, बर्दिया, चितवन, पर्सा र ललितपुरमा राखिएको छ । त्यसैगरी, बाँके राष्ट्रिय निकुञ्जको खैरीमा पनि एउटा बाघ र दुई चितुवाको उद्धार गरी खोरमा राखिएको छ । —

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६