ब्रेकिंग न्युज

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा



राँझा (बाँके), १० असोज

बाँकेमा दुइदिनदेखि जारी अविरल वर्षाको कारण राप्ती नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । राप्ती नदीले राप्ती सोनारीको २ नं वडादेखि नरैनापुरसम्मकै तल्लोतटीय क्षेत्रका बासिन्दालाई वर्षेनी जोखिम राख्दै आएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका–७ नयाँवस्ती फरेदागाउँका शङ्कर यादवले बताउनुभयो । “अविरल वर्षासँगै राप्ती नदीमा बाढी आइरहेको छ,बाढी रोकथामको लागि स्थायी तटबन्ध नभएका कारण राप्ती नदीको जोखिम बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “ठूलो बाढी आयो भने गाउँमा पसेर बगाउँछ भन्ने चिन्ताले वर्षाद्को समयमा राम्ररी निदाउन सकिएको छैन ।” उहाँका अनुसार, ठूलो बाढी आउँदा राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन वस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन् । राप्तीको तल्लोतटीय क्षेत्रमा नदीले दिनहुँजसो जमिन कटान गरिरहेको छ । अहिलेसम्म सयौँ बिघा खेतीयोग्य जमिन नदी कटानमा परिसकेको स्थानीयवासी यादवको भनाइ छ । तटबन्ध निर्माण नभएका कारण राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा जोखिम मडारिएको नरैनापुर गाउँपालिका–६ गङ्गापुरका अगुवा सोहनलाल यादवले बताउनुभयो । “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँनजिक रहेको तटबन्ध राप्ती नदीले केही वर्षअघि भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीब्र पारेको छ”, यादवले भन्नुभयो, “नदी नियन्त्रण गर्ने स्थायी तटबन्ध नभएका कारण ठूलो बाढी आउनासाथ नदी बस्तीमा पस्ने खतरा बढेको छ ।” राप्ती नदीले वर्षायाम सुरु हुनासाथ राप्ती सोनारी गाउँपालिका–२ कचनापुरको अगैया, गोबरपुर, माथेवास, खोरिया, मदुई, हरिहरपुर, अम्रहवा, टिकुलीपुर, शम्शेरगञ्ज र राजपुर क्षेत्र र वडा नं ३ को बैजापुरका विभिन्न टोलमा डुबान र कटान गर्दै आएको राप्ती सोनारी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष मिनकुमार चौधरीले बताउनुभयो । “नदी किनारमा तटबन्ध नहुँदा प्रत्येक वर्ष बाढीले दुवै किनारको सयौँ बिघा खेतीयोग्य जमिन कटान गर्ने गरेको छ,” वडाध्यक्ष थारुले भन्नुभयो, “अहिले मौसमी सूचनाअनुसार भएको वर्षाद्सँगै नदीमा पानीको सतह बढ्दै गएको छ, यसबाट सुरक्षित रहन नागरिकलाई सचेत बनाउने काम गरिरहेका छौँ ।” राप्ती नदीमा ठूलो बाढी आउँदा मानव बस्तीसमेत जोगाउन कठिन हुने भएकोले गाउँवस्तीमा सजक हुन सूचित गर्दै आएको वडाध्यक्ष थारुले बताउनुभयो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले अविरल वर्षाको कारण हुनसक्ने बाढीजन्य विपद सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको बताउनुभयो । भारी वर्षा पछि हुन सक्ने बाढी र डुबान व्यवस्थापनलाई मध्यनजर गरेर राप्ती सोनारीमा हाल करिब एक हजार ५०० देखि दुई हजार जनासम्मलाई राख्न सकिने क्षमता रहेका सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार, राप्ती सोनारी गाउँपालिकामा अहिले पाँचवटा सुरक्षित आश्रयस्थल सञ्चालनमा छन् भने थप दुईवटा भवन निर्माणको क्रममा छन् । सञ्चालनमा रहेका पाँच आश्रयस्थलमा करिव दुई हजार जनासम्मलाई राख्न सक्ने क्षमता रहेको छ । भारी वर्षालाई मध्यनजर गर्दै ती आश्रयस्थललाई तयारी अवस्थामा राखिएको छ । –––

Powered By Orson Infotech

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६