बर्दिया, १२ असोज
बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने ग्याङ नदीमाथि निर्माण गरिएको पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै जोखिममा परेको छ । पश्चिमतर्फको उत्तरी भागमा रहेको पहुँच सडक भासिन थालेपछि पुलको संरचनामै क्षति पुग्ने जोखिम बढेको बढैयाताल गाउँपालिका–९, का वडाध्यक्ष वीरबहादुर थारुले बताउनुभयो । करिब रु आठ करोडको लागतमा निर्माण सम्पन्न भएको पुल जोखिममा परेपछि लामो समयदेखि पुलको सुविधा पर्खिरहेका मुक्त कमैया बस्तीका बासिन्दा चिन्तित बनेका छन् । विकास नगर मुक्त कमैया बस्तीका स्थानीय जयकृष्ण थारुले निर्माण कम्पनीको लापरबाहीका कारण पुल निर्माण भएको दुई वर्ष नपुग्दै एकातर्फको पहुँच सडक भासिन थालेको बताउनुभयो । “अहिलेसम्म टालटुल गरेर मर्मत गरिँदै आएको छ,” उहाँले भन्नुभयो, “तर, समस्या समाधान हुन सकेको छैन ।” पहुँच सडक तत्काल भत्काएर पुनःनिर्माण तथा मर्मत गर्नुपर्ने थारुले सुझाव दिनुभयो । पुरानो पुल भत्किएको करिब एक दशकपछि नयाँ पुल निर्माण सम्पन्न भएपछि मुक्त कमैया बस्तीका स्थानीयले सहज आवागमन हुने अपेक्षा गरेका थिए । लामो समयसम्म पुल नहुँदा वर्षायाममा ग्याङ नदी तर्न तथा आवतजावत गर्न स्थानीयले ठूलो सास्ती भोग्दै आएका थिए । नयाँ पुल बनेपछि आवागमन सहज हुने आशा गरेका स्थानीय अहिले निर्माण सम्पन्न भएको छोटो समयमै पुल जोखिममा परेपछि निराश बनेका स्थानीय बजारु थारुले बताउनुभयो । सडक पूर्वाधार विकास कार्यालयका सव इन्जिनियर एवं सूचना अधिकारी प्रकाश थारुका अनुसार पुलको पहुँच सडक भासिन थालेपछि जोखिम बढेको हो । उहाँले भन्नुभयो, “पुल तत्काल मर्मतका लागि करिब रु ५० लाख बजेट आवश्यक पर्छ । समयमै मर्मत नभए पहुँच सडक भासिएर पुलको संरचनामा अत्यधिक क्षति पुग्ने अवस्था छ ।” पुलको पहुँच सडकमा गत वर्ष पनि निर्माण कम्पनीले सामान्य मर्मत गरेको थियो । तर समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन । पहुँच सडकमा क्षति पुगेपछि सवारीसाधनको आवतजावतमा समेत समस्या भएको छ । हाल सामान्य मर्मतपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको भए पनि नदीको बहाव बढ्दा थप क्षति हुन सक्ने जोखिम रहेको सडक पूर्वाधार विकास कार्यालय, बर्दियाले जनाएको छ । उक्त पुलले बढैयाताल–८, पञ्चबजारदेखि जनतानगर, शक्तिनगर हुँदै बारबर्दियाको बैदी जोड्ने मुख्य सडकअन्तर्गत ग्याङ नदीमा निर्माण गरिएको हो । उक्त पुल २०८१ कात्तिकमा निर्माण सम्पन्न भएको हो ।









प्रतिक्रिया