खोज–अनुसन्धान

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी



दमौली (तनहुँ), १३ असोजः

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका आठ सामुदायिक वनमा पोखरी निर्माण गरेको हो । पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियानलाई अगाडि बढाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । रानाभाटका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा चितुवाको आतङ्क बढ्नुको पछाडि जङ्गलभित्र पानीको स्रोतको अभाव हो । वन्यजन्तु पानी खोज्दै बस्ती पस्ने र त्यस क्रममा मानिस तथा पशुधनमाथि आक्रमणका घटना हुने गरेका छन् । रानाभाटका अनुसार ऋषिङ गाउँपालिका–६ स्थित ज्वालादेवी सामुदायिक वन, व्यास नगरपालिका–६ स्थित सपनकोट सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–१० स्थित मलागिरि सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । यस्तै, भानु नगरपालिका–१० स्थित कवाचित सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन, व्यास नगरपालिका–११ स्थित सिद्धबराह सामुदायिक वन, भिमाद नगरपालिका–२ स्थित शेरा सामुदायिक वन र म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा पोखरी निर्माण गरिएको छ । रानाभाटले भन्नुभयो, “तनहुँमा केही वर्षयता चितुवाको आतङ्क छ, जङ्गलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाले । त्यसैलाई मध्यनजर गर्दै सामुदायिक वनमा पोखरी निर्माण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।” पोखरी निर्माणका लागि कार्यालयले सम्बन्धित वन उपभोक्ता समितिलाई रु एक लाख सहयोग गर्ने गरेको छ । वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैँले पोखरी निर्माण गर्न थालेका छन् । वन क्षेत्रमा पर्याप्त पानीको स्रोत उपलब्ध गराउनसके वन्यजन्तुलाई पानीका लागि बस्ती पस्नुपर्ने बाध्यता नहुने वन कार्यालयको विश्वास छ । चितुवा, हरिण, बाँदर, बँदेललगायत वन्यजन्तुले जङ्गलभित्रै पानी पाउने अवस्था सिर्जना भएमा मानव बस्ती र वन्यजन्तुको प्रत्यक्ष सम्पर्क घटाउन सकिने कार्यालयले जनाएको छ । —

प्रकाशित : १३ आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६