घनश्याम भर
कपिलवस्तु, १३ असोज
कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन उपभोक्ता समूहको ११औँ साधारण सभा वन संरक्षण, वृक्षारोपण, वन पैदावारको व्यवस्थापन तथा जलवायु परिवर्तनका चुनौतीमा केन्द्रित हुँदै सम्पन्न भएको छ।
सभामा सहभागी सरोकारवालाले वनको संरक्षण र दिगो व्यवस्थापनका लागि उपभोक्ता, स्थानीय तह, प्रदेश तथा संघीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री जानकी प्रसाद यादवले साझेदारी तथा सामुदायिक वनले बिरुवा वितरण लगायतका कार्यक्रममार्फत वन संरक्षणमा योगदान पु¥याउँदै आएको बताए। वन संरक्षणमा सबै पक्षको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले संघ र प्रदेश सरकारका वनसम्बन्धी कानुनमा देखिएको असमझदारी र बाझिने व्यवस्थाका कारण कार्यसम्पादनमा कठिनाइ हुने गरेको बताए।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले स्थानीय समुदायसँग समन्वय गरी वन संरक्षणका गतिविधि अघि बढाउनुपर्ने बताए। वन संरक्षणसँगै वन पैदावारको व्यवस्थित उपयोग र वृक्षारोपणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। जलवायु परिवर्तनका कारण उत्पन्न समस्या न्यूनीकरणका लागि संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए।
कपिलवस्तु साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गंगेशनाथ तिवारीले वन संरक्षणसँगै हरित अभियानलाई अघि बढाउँदै आएको बताए। वनलाई वातावरणीय सन्तुलनसँगै स्थानीय समुदायको जीविकोपार्जन र आर्थिक गतिविधिसँग जोडेर व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै, डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजनल वन अधिकृत गणेशबहादुर खड्काले साझेदारी वनलाई तीनै तहका सरकार र स्थानीय सरोकारवालाबीचको सहकार्यको अभ्यासका रूपमा लिन सकिने बताए।
कार्यक्रममा विजयनगर गाउँपालिका–७ का वडाध्यक्ष दिनेश कुमार चौधरी र नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव शनिउल्ला धोबीले पनि वन संरक्षण तथा व्यवस्थापनका विषयमा धारणा राखेका थिए ।
साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष प्रवेज आलम खानको अध्यक्षतामा सम्पन्न सभामा उपाध्यक्ष सीमा अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सदस्य अकबर हुसेनले स्वागत मन्तव्य राखेका थिए।









प्रतिक्रिया