कपिलवस्तु, १५ असोज
बाणगंगा नगरपालिकामा नसर्ने रोगको अवस्था पछिल्ला वर्षहरूमा क्रमशः बढ्दै गएको तथ्यले पुष्टी गरेको छ । स्वस्थ जीवनशैलीप्रति गम्भीर बन्नुपर्ने आवश्यकता देखाएको छ। नगरपालिकामा रहेका करिब २३ हजार घरधुरी मध्ये ९ हजार २ सय १६ घरधुरीमा कुनै न कुनै प्रकारका नसर्ने रोगका समस्या देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टि.आर पौडेलका अनुसार पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा नसर्ने रोगको अवस्था क्रमशः बढ्दो क्रममा छ। तीन वर्षअघि करिब १२ प्रतिशत, त्यसपछि २१ प्रतिशत हुँदै हाल नगरको जनसंख्यामा नसर्ने रोगको अवस्था २४ प्रतिशत सम्म पुगेको उहाँले जानकारी दिनुभयो। यसले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिन जीवनशैली परिवर्तन र समयमै स्वास्थ्य परीक्षण गर्नुपर्नेमा पौडेलको जोड छ ।

स्वास्थ्य शाखाका अनुसार नगरका ५ हजार १ सय ५१ घरधुरीमा उच्च रक्तचाप, १ हजार ७ सय ३६ घरधुरीमा मधुमेह तथा २ हजार ३ सय २९ घरधुरीमा दम, मुटुरोग, क्यान्सरलगायत अन्य नसर्ने रोग देखिएको छ। यी तथ्यांकले नसर्ने रोग कुनै निश्चित उमेर समूह वा व्यक्तिमा मात्र सीमित नभई समुदायस्तरमै स्वास्थ्य चुनौतीका रूपमा विस्तार भइरहेको संकेत गरेको छ ।
नसर्ने रोगको प्रमुख जोखिममध्ये अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, अत्यधिक प्रशोधित तथा प्याकेटमा पाइने खाद्य पदार्थको सेवन, मोटोपना, धूमपान तथा मद्यपानजस्ता व्यवहारलाई महत्वपूर्ण मानिन्छ। विशेषगरी बालबालिका र युवापुस्तामा जंक फुडको बढ्दो आकर्षणले भविष्यमा मधुमेह, उच्च रक्तचाप, मुटुरोगलगायत समस्या बढाउने जोखिम निम्त्याउन सक्ने भएकाले विद्यालय तहबाटै सचेतना फैलाइएको पौडेलको भनाई रहेको छ।
यही अवस्थालाई ध्यान दिँदै बाणगंगा नगरपालिकाले २५ देखि ४० वर्ष उमेर समूहलाई लक्षित गरी जंक फुडसम्बन्धी सचेतना अभियान सञ्चालन गरिरहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाभित्रका ८० वटा शैक्षिक संस्थालाई जंक फुड निषेधित क्षेत्र घोषणा गरी त्यसको कार्यान्वयन र दिगोपनामा समेत ध्यान दिइएको जानकारी दिनु भयो ।
वद्यालयलाई जंक फुडमुक्त बनाउने प्रयास विद्यालयको सरसफाइ वा खानाको विषय मात्र नभई दीर्घकालीन स्वास्थ्य सुरक्षासँग जोडिएको विषय हो। बालबालिकाको खानपानमा सुधार ल्याउन विद्यालयसँगै अभिभावक र परिवारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। घरमा पौष्टिक र सन्तुलित खाना उपलब्ध गराउने, बजारिया तथा अत्यधिक प्रशोधित खाद्य पदार्थको प्रयोग घटाउने र बालबालिकालाई नियमित शारीरिक गतिविधिमा सहभागी गराउने वातावरण बनाउन आवश्यक रहेको पौडेलको भनाई रहेको छ।
स्वास्थ्य क्षेत्रमा नगरपालिकाले केही सकारात्मक उपलब्धि हासिल गरेको पनि शाखाले जनाएको छ। पौडेलका अनुसार मातृ मृत्यु दरलाई २२ प्रतिशतबाट शून्यमा र शिशु मृत्यु दरलाई १४ प्रतिशतबाट २ प्रतिशतमा झारिएको छ। तर एकातिर मातृ तथा शिशु स्वास्थ्यमा सुधार हुँदै गर्दा अर्कोतर्फ नसर्ने रोगको बढ्दो भार देखिनु स्वास्थ्य क्षेत्रमा नयाँ चुनौतीका रूपमा देखा परेको छ।
नसर्ने रोगबाट जोगिन महँगो उपचारभन्दा समयमै अपनाइने सामान्य सावधानी बढी प्रभावकारी हुन सक्छ। नियमित स्वास्थ्य परीक्षण गर्ने, रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गर्ने, दैनिक शारीरिक व्यायाम वा हिँडडुल गर्ने, नुन–चिनी तथा अत्यधिक बोसोयुक्त खाना कम गर्ने, फलफूल तथा तरकारीको मात्रा बढाउने, धूमपान र मद्यपानबाट टाढा रहने तथा पर्याप्त निद्रा र आराममा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ।
नसर्ने रोगको बढ्दो अवस्थाले स्वास्थ्य संस्थाको मात्र होइन, घर, विद्यालय, समुदाय र स्थानीय सरकार सबैको साझा जिम्मेवारी औँल्याएको छ। रोग लागेपछि उपचार खोज्ने संस्कारभन्दा रोगको जोखिम घटाउने जीवनशैली विकास गर्न सके स्वस्थ पुस्ता निर्माण गर्न सकिन्छ। त्यसका लागि सरकारी अभियानसँगै नागरिकको व्यवहारमा परिवर्तन र सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो।









प्रतिक्रिया