दाङ १७असोज
लुम्बिनी प्रदेशका जिल्ला मध्ये कपिलवस्तु र बर्दिया उच्च गरिबी युक्त जिल्लामा परेकाछन् । प्रदेशका जिल्लामा गरिबीको अवस्था समान नरहे पनि लगभग समान औषतको गरिबी २ जिल्लामा देखा परेकोछ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान २०२३’ अनुसार प्रदेशका जिल्लाबिच गरिबीको दरमा ठुलो अन्तर देखिएको हो।प्रतिवेदन अनुसार लुम्बिनीमा सबैभन्दा बढी गरिबी बर्दिया जिल्लामा ३९ दशमलव ९७ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुपन्देहीमा १५ दशमलव १५ प्रतिशत छ । यसले प्रदेशभित्रै जिल्लाअनुसार गरिबीको अवस्था निकै फरक रहेको देखाएको छ। लुम्बिनीका १२ जिल्लामध्ये कपिलवस्तुमा ३९ दशमलव २४, रोल्पामा ३८ दशमलव ०९, प्युठानमा ३५ दशमलव २४, रुकुमपूर्वमा ३१ दशमलव ९९ र बाँकेमा २६ दशमलव ९२ प्रतिशत गरिबी रहेको छ।
त्यसैगरी दाङमा २२ दशमलव ३७, अर्घाखाँचीमा २० दशमलव ३७, नवलपरासी पश्चिममा १८ दशमलव ६८, गुल्मीमा १७ दशमलव १३ र पाल्पामा १६ दशमलव ७६ प्रतिशत गरिबी रहेको तथ्याङ्क छ ।प्रदेशका जिल्लाको तथ्याङ्क हेर्दा तराईका जिल्लामा समेत गरिबीको अवस्था समान छैन। रुपन्देहीमा तुलनात्मक रूपमा कम गरिबी देखिँदा बर्दिया र कपिलवस्तुमा गरिबीको दर करिब ४० प्रतिशतको हाराहारीमा पुगेको छ। यसले विकासका अवसर, आयआर्जन, रोजगारी र सामाजिक सुरक्षामा जिल्लागत असमानता रहेको देखाएको छ।राष्ट्रियस्तरमा भने सुदूरपश्चिम प्रदेशमा गरिबीको दर सबैभन्दा बढी र गण्डकीमा सबैभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।
१७ आश्विन २०८३, शनिबार









प्रतिक्रिया