विजयनगर, १७ असोज
कपिलवस्तुको विजयनगर गाउँपालिकाले प्राथमिकतामा रहेका सडक तथा पुल लगायतका विकास योजनालाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाएको छ। योजना छनोट पछि कागजी प्रक्रियामै सीमित नराखी निर्माणस्थलको वास्तविक अवस्था बुझेर प्राविधिक तयारी अघि बढाउन स्थलगत निरीक्षण गरिएको हो।
सडक पूर्वाधार विकास कार्यालय, बुटवलका प्राविधिक टोलीसहित गाउँपालिकाका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीले विभिन्न विकास योजनाको स्थलगत निरीक्षण गरेका छन्। गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा, वडा नं. ७ का अध्यक्ष दिनेशकुमार चौधरी, प्राविधिक अधिकृत हेमन्तकुमार चौधरी र सब–इन्जिनियर शिवकुमार बढई सहितको टोलीले योजनास्थलको निरीक्षण गरेको हो।
टोलीले पत्थरदेइया–परसहवाडिहवा हुँदै हुलाकी सडक, पत्थरदेइया–परसोहिया भटनी घोलामा पुल, अमलहवा–मानपुर भटनी घोला, लोनिया टोल–विशवा खोला, नौरंगिया–अमृतडिहवा चिरई खोला तथा उज्ज्वलपुर–भगिरामपुर चिरई खोलालगायतका स्थानको निरीक्षण गरेको गाउँपालिकाले जनाएको छ।

स्थलगत निरीक्षणका क्रममा सडकको अवस्था, पुल निर्माणस्थल, आवश्यक पूर्वाधार, प्राविधिक पक्ष तथा योजना कार्यान्वयनका लागि आवश्यक प्रक्रियाबारे छलफल गरिएको थियो। भौगोलिक अवस्था, आवागमनको आवश्यकता र स्थानीय नागरिकले भोग्दै आएका समस्यालाई समेत ध्यानमा राखेर निर्माण कार्य अघि बढाउनु पर्नेमा जोड दिइएको छ।
विकास योजनाको प्रभावकारिता बजेट विनियोजनमा मात्र नभई त्यसको समयमै कार्यान्वयन, गुणस्तरीय निर्माण र नागरिकको दैनिक जीवनमा पुग्ने प्रत्यक्ष लाभमा निर्भर हुन्छ। त्यसैले निर्माणअघि नै स्थलको अवस्था अध्ययन गरी प्राविधिक मापदण्ड पूरा गर्नु र आवश्यक प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउनु महत्वपूर्ण मानिन्छ।
विशेषगरी पुल तथा सडक जस्ता पूर्वाधारले ग्रामीण क्षेत्रको आवागमन, कृषि उपजको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस्ता योजनालाई आवश्यकताका आधारमा प्राथमिकता दिनुपर्ने स्थानीयको अपेक्षा छ। निर्माणका क्रममा गुणस्तरमा सम्झौता नगर्ने, निर्धारित समयभित्र काम सम्पन्न गर्ने र सार्वजनिक स्रोतको प्रभावकारी उपयोग गर्ने विषयमा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ।
गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले आवश्यक प्रक्रिया छिटो पूरा गरी प्राथमिकतामा रहेका योजनालाई कार्यान्वयनमा लैजाने बताउनुभयो। उहाँले गाउँपालिकाका प्राथमिकताका विकास योजनालाई समयमै अघि बढाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो।
विकास निर्माणका योजना अघि बढाउँदा स्थानीय आवश्यकता, प्राविधिक सम्भाव्यता, वातावरणीय प्रभाव र दीर्घकालीन उपयोगितालाई समेत ध्यान दिन सके पूर्वाधार दिगो बन्न सक्छ। योजनाको सुरुदेखि नै पारदर्शिता, गुणस्तर र नागरिक सहभागितालाई प्राथमिकता दिन सके सार्वजनिक लगानीको प्रतिफल अझ प्रभावकारी रूपमा समुदायसम्म पुग्ने पालिका अध्यक्ष गोपाल बहादुर थापाको भनाई रहेको छ ।









प्रतिक्रिया