कपिलवस्तु, १९ असोज
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ बैजलपुरस्थित जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको छ। समूहको वार्षिक प्रतिवेदनले सामुदायिक वनको दिगो व्यवस्थापनका लागि वन संरक्षणसँगै आर्थिक अनुशासन र उपभोक्ताको सहभागितालाई संस्थागत गर्नुपर्नेमा जोड दिएको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा समूहको कुल आम्दानी ४ करोड ९ लाख ३ हजार ६ सय ३९ रुपैयाँ रहेको छ। अघिल्लो वर्षको बैंक मौज्दातसमेत जोड्दा समूहसँग ४ करोड ७३ लाख ४२ हजार १ सय ३९ रुपैयाँ बराबरको स्रोत परिचालन भएको प्रतिवेदनमा उल्लेख छ। सो अवधिमा ३ करोड ८७ लाख ८४ हजार ५ सय ८ रुपैयाँ खर्च भएको र विभिन्न बैंकमा ८५ लाख ५७ हजार ६ सय ३१ रुपैयाँ मौज्दात रहेको जनाइएको छ।
ठूलो आर्थिक कारोबार हुने सामुदायिक वनमा आम्दानी र खर्चको स्पष्ट अभिलेख, पारदर्शी निर्णय प्रक्रिया तथा उपभोक्ताप्रति जवाफदेहिता आवश्यक हुने प्रतिवेदनले देखाएको छ। आम्दानीका विभिन्न शीर्षकको कार्बन रसिद तथा रजिस्टरमा अभिलेख राख्ने, दोहोरो लेखा प्रणाली अनुसार लेखा व्यवस्थापन गर्ने तथा कार्य समितिको निर्णयपछि मात्र भुक्तानी गर्ने अभ्यासलाई सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ।
त्यसैगरी अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट चेक काट्ने, खर्चका बिल–भरपाई कार्यसमितिबाट अनुमोदन गराउने तथा सम्बन्धित निकायको निर्देशन र वनको विधानअनुसार कार्यक्रम सञ्चालन गर्ने अभ्यासले संस्थागत सुशासनलाई बल पुग्ने गरेको समूहको उपाध्यक्ष लोक माया कंडेलको भनाई छ।
त्यसैगरी आर्थिक कारोबारको श्रेस्ता कम्तीमा चार–चार महिनामा लेखा समितिलाई उपलब्ध गराउने, नियमित लेखापरीक्षण तथा सामाजिक लेखापरीक्षणलाई प्रभावकारी बनाउने सुझाव दिइएको छ। सामाजिक लेखापरीक्षणलाई औपचारिकतामा सीमित नगरी उपभोक्ताका प्रश्न, गुनासा र सुझाव सुन्ने माध्यमका रुपमा लिएको समूहका सचिव यशोधा पाण्डेयले बताउनु भयो ।
सामुदायिक वनको मूल्यांकन अब आम्दानी र काठ वितरणमा मात्र सीमित गर्न नहुने देखिएको छ। वन क्षेत्रको संरक्षण, वृक्षरोपण, जैविक विविधताको सुरक्षा, विपन्न उपभोक्ताको पहुँच, महिला तथा सीमान्तकृत समुदायको सहभागिता र वातावरणीय प्रभावलाई समेत मूल्यांकनको आधार बनाउनुपर्ने आवश्यकता औंल्याइएको समूहका सहसचिव बाबुराम जैसीको भनाई रहेको छ ।
वनको डिजिटल अभिलेख, व्यवस्थित आर्थिक विवरण, उपभोक्तालाई सूचना पहुँच, वैज्ञानिक काठ मापन तथा वातावरणीय सूचकका आधारमा वार्षिक प्रगति मूल्यांकन गर्ने अभ्यास अघि बढाइएको समूहका अध्यक्ष सत्य नारायण थारुले बताउनु भयो ।

समूहका अध्यक्ष थारुले सामुदायिक वन समुदायको साझा सम्पत्ति भएकाले यसको वास्तविक शक्ति उपभोक्ताको विश्वासमा निर्भर हुन्छ। त्यसैले वनबाट आम्दानी बढाउनुका साथै वनको उत्पादन क्षमता, वातावरणीय सन्तुलन र आगामी पुस्ताको अधिकार सुरक्षित राख्नुपर्ने आवश्यकता देखिएको बताउनु भयो । वन जोगाउने अभियानसँगै आर्थिक पारदर्शिता, सहभागिता र जवाफदेहिता बलियो बनाउन सके मात्र सामुदायिक वन दिगो विकास र वातावरणीय सुरक्षाको भरपर्दो आधार बन्न सक्ने अध्यक्ष थारुको भनाई रहेको छ।
वनको १४ औं वार्षिक साधारण सभामा वैज्ञानिक वन ब्यवस्थापन राष्ट्रिय महासंघ, नेपालका अध्यक्ष रेनु सेन, वडा नं. २ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता विष्णु प्रसाद पौडेल लगायतका सरोकारवालाहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । साधारण सभा समूहका अध्यक्ष सत्यनारायण थारुको अध्यक्षता सचिव यशोदा पाण्डेयको संचालनमा सम्पन्न सभाले समूहका तर्फबाट प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।









प्रतिक्रिया