ब्रेकिंग न्युज

दशैं–तिहारमा सुरक्षित यात्राका लागि कपिलवस्तुका नौ स्थानमा नागरिक सहायता केन्द्र



डिलाराम भुसाल
कपिलवस्तु, २० असोज

दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कपिलवस्तुका नौ स्थानमा संयुक्त यात्रु तथा नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ। चाडपर्वका बेला यात्रुको बढ्दो चापलाई व्यवस्थित गर्दै यात्राका क्रममा हुन सक्ने ठगी, चोरी, दुर्घटना तथा अन्य समस्याबाट नागरिकलाई जोगाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सहायता केन्द्र स्थापना गरिएको हो।
तौलिहवास्थित बसपार्कमा आयोजित कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले ब्यानर पढेर सहायता केन्द्रको शुभारम्भ गरे। उनले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सहायता केन्द्रले यात्रुका समस्या तत्काल सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।


चाडपर्वका बेला यात्रु ठगिने, सामान हराउने, बस छुट्ने तथा टिकट र सिट नपाउनेजस्ता समस्या आउन सक्ने भन्दै उनले यस्ता समस्याको समाधानमा सहायता केन्द्र प्रभावकारी बन्नुपर्ने बताए। संवेदनशील जिल्लाका रूपमा रहेको कपिलवस्तुमा चाडपर्वका समयमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले चाडपर्वलाई लक्षित गरी एकीकृत सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए। उनले सहायता केन्द्रमार्फत यात्रुलाई आवश्यक सूचना, सहजीकरण र तत्काल सहयोग उपलब्ध गराई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण निर्माण गरिने बताए।
भारतबाट दशैं, तिहार तथा छठ मनाउन घर फर्किने प्रवासी नेपालीको चाप सीमा नाकामा बढ्न थालेसँगै सुरक्षा व्यवस्था थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। विगतमा सीमा नाका तथा यात्राका क्रममा सर्वसाधारण र प्रवासी नेपालीले सास्ती भोग्नुपरेका जनगुनासोलाई समेत ध्यानमा राखेर सहायता केन्द्र सञ्चालन गरिएको उनले बताए।
सीमा नाका तथा सडक यात्राका क्रममा यात्रु ठगिने, लुटिने र दुर्घटनामा पर्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीलाई निगरानी बढाउन निर्देशन दिइएको एसपी भट्टले बताए। यात्रु सहायतासँगै क्विक रेस्पोन्स टिम परिचालन, नागरिकमैत्री सुरक्षा वातावरण निर्माण तथा दुर्घटना न्यूनीकरणका लागि पर्चा–पम्प्लेट वितरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए।
जिल्लाको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सीमा क्षेत्रमा तीन र सीमा बाहिर छ गरी नौ स्थानमा सहायता केन्द्र स्थापना गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताए। उनका अनुसार सीमा क्षेत्रका कृष्णनगर, मर्यादपुर र चाकडचौडा तथा सीमा बाहिर तौलिहवा, चन्द्रौटा, गोरुसिंगे, पिपरा, बहादुरगञ्ज र पकडीमा सहायता केन्द्र सञ्चालनमा ल्याइएको छ।
प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोली खटिने सहायता केन्द्रबाट यात्राका क्रममा समस्या परेका नागरिकलाई तत्काल आवश्यक सहयोग, सूचना तथा समन्वय उपलब्ध गराइने सिंहले बताए। विशेषगरी लामो दूरीका यात्रु, भारतबाट घर फर्किने नेपाली तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई आवश्यक सहजीकरणमा केन्द्रित गरिने उनको भनाइ छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले चाडपर्वका समयमा सीमा नाका र सडकमा प्रवासी नेपाली तथा आम नागरिकले भोग्दै आएका समस्या न्यूनीकरण गर्न सहायता केन्द्र प्रभावकारी हुनुपर्ने बताए। नागरिक, सुरक्षा निकाय र सरोकारवाला निकायबीचको सहकार्यबाट मात्रै सुरक्षित र सहज यात्राको वातावरण निर्माण गर्न सकिने उनको भनाइ थियो।
चाडपर्वका समयमा सवारी साधनको अत्यधिक चाप, लामो दूरीको यात्रा र सीमा नाकामा हुने भीडका कारण दुर्घटना तथा यात्रु ठगीको जोखिम बढ्न सक्ने भएकाले सहायता केन्द्रसँगै यात्रु स्वयं पनि सचेत हुनुपर्ने देखिन्छ। टिकट किन्दा आधिकारिक काउन्टर प्रयोग गर्ने, सवारी साधनको अवस्था र चालकको व्यवहारमा ध्यान दिने, अपरिचित व्यक्तिलाई सामान नदिने तथा समस्या परे तत्काल प्रहरी वा सहायता केन्द्रमा सम्पर्क गर्ने विषयमा यात्रुलाई सचेत गराउनुपर्ने आवश्यकतामा जोड दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थापना गरिएका नागरिक तथा यात्रु सहायता केन्द्र दशैं, तिहार र छठ पर्वको अवधिभर निरन्तर सञ्चालनमा रहनेछन्।

प्रकाशित : २० आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६