कपिलवस्तु, २० असोज
बाणगंगा नगरपालिकाले स्थानीय सरकारको जिम्मेवारीलाई सडक, भवन र अन्य भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नराखी सुशासन, सामाजिक संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ, समावेशिता र नागरिक सेवा प्रवाहसँग जोड्दै कार्यसम्पादन अघि बढाएको छ । आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले प्रशासनिक सुधारदेखि नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
नगरपालिकाको कार्यसम्पादनमा वित्तीय अनुशासन र संस्थागत सुशासनलाई महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन अनुसार नगरपालिकाको बेरुजु ०.२९ प्रतिशतमा सीमित गरिएको नगरपालिकाले जनाएको छ । सार्वजनिक स्रोतको उपयोगमा वित्तीय अनुशासन कायम गर्ने प्रयासका रूपमा यसलाई हेरिएको नगर प्रमुख चक्रपाणी अर्यालको भनाई रहेको छ ।

नगर प्रमुख चक्रपाणी अर्याल
आर्थिक वर्ष २०८२/८३ मा तीन पटक त्रैमासिक समीक्षा, सार्वजनिक सुनुवाइ तथा आन्तरिक लेखा परीक्षणका गतिविधि सञ्चालन गरिएको छ । कार्यपालिकाका १९ वटा बैठक सम्पन्न हुनुका साथै जिन्सी निरीक्षण, वडा कार्यालय, स्वास्थ्य संस्था, बजार, खानेपानी तथा सहकारी संस्थाको अनुगमन गरिएको नगर प्रमुख चक्रपाणी अर्यालको तर्क छ । स्थानीय शासनलाई नागरिकको पहुँचसम्म पु¥याउने उद्देश्यले वडा नं. ८, ९ र १० मा तीन पटक एकीकृत घुम्ती शिविर सञ्चालन गर्दा २ हजार ६ सय ३ जनाले सेवा लिएका छन् ।
स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, कानुनी प्रक्रिया, लेखा तथा विपद् व्यवस्थापनलगायत विषयमा जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण तथा तालिम दिइएको छ । नगरका १०४ टोल विकास संस्थामध्ये क्रियाशील ५७ संस्थालाई अनुदान उपलब्ध गराइएको योजना शाखाले जनाएको छ ।
सामाजिक संरक्षणमा जोड
बाणगंगाले विकासलाई भौतिक संरचनासँग मात्र नजोडी सामाजिक संरक्षण र मानवीय सेवासँग समेत जोड्ने प्रयास गरेको देखिन्छ । चालु आर्थिक वर्षमा ६८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । हालसम्म ९ सय ५५ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । त्यस्तै, चालु वर्षमा १९२ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ भने हालसम्म यस्तो परिचयपत्र प्राप्त गर्नेको संख्या २ हजार ६ सय ८४ पुगेको छ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिको संरक्षण र विपन्न समुदाय लक्षित सामाजिक कार्यक्रम सञ्चालन गरिएको छ । सडकमा आश्रित ११ जनाको व्यवस्थापन तथा बेवारिसे अवस्थामा भेटिएकी एक बालिकाको उद्धार गरी परिवारको जिम्मा लगाइएको नगरपालिकाले जनाएको छ । कपडा बैंकमार्फत संकलित कपडा व्यवस्थापन गरी विपन्न बस्तीमा वितरण गरिएको छ ।
यी गतिविधिले स्थानीय सरकारको भूमिका विकास निर्माणसँगै संकटमा परेका नागरिकको संरक्षण र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने संस्थाका रूपमा पनि विस्तार हुँदै गएको संकेत गर्छन् ।
खानेपानी र सरसफाइमा पहुँच विस्तार
स्वच्छ खानेपानी र सरसफाइलाई नगरपालिकाले जनस्वास्थ्यसँग जोडेको छ । ३ सय ४४ विपन्न घरधुरीमा खानेपानीका धारा जडान गरी स्वच्छ पिउने पानीको पहुँच विस्तार गरिएको छ । ६६ विपन्न घरधुरीमा व्यक्तिगत शौचालय निर्माण गरिएको छ भने वडा नं. ५ कोपवामा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
नगरभर १० वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् । वडा नं. २ पिपरामा निर्माण गरिएको सुविधा सम्पन्न सार्वजनिक शौचालय खानेपानी तथा सरसफाइ सेवा प्रदायक संस्थालाई हस्तान्तरण गरिएको छ । बाणगंगालाई पूर्ण सरसफाइयुक्त नगरपालिका बनाउने लक्ष्यअनुसार सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र वडा नं. २ लाई पूर्ण सरसफाइ वडा घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
शिक्षामा गुणस्तर र प्रविधिको खोजी
शिक्षातर्फ विद्यालय स्तरीकरण, विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको काम सम्पन्न गरिएको छ । स्थानीय परिवेशअनुकूल स्थानीय पाठ्यक्रम परिमार्जन तथा विकास गरिएको छ । प्रारम्भिक बालविकासका ६० सहजकर्तालाई १० दिने क्षमता विकास कार्यशाला सञ्चालन गरिएको छ भने विद्यार्थीको सिकाइ स्तर पहिचान गरी आवश्यकता अनुसार उपचारात्मक शिक्षणको व्यवस्था गरिएको छ ।
विपन्न लक्षित ११५ विद्यार्थीलाई छात्रवृत्ति तथा विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराइएको छ । १६ विद्यालयमा प्रोजेक्टर र ३१ विद्यालयमा धुलोरहित शिक्षणका लागि ह्वाइट बोर्ड वितरण गरिएको छ । नौ बालविकास केन्द्रमा शैक्षिक तथा खेल सामग्री व्यवस्थापन, कक्षा १ देखि १२ सम्म निःशुल्क पाठ्यपुस्तक तथा विद्यालयमा छात्राका लागि सेनिटरी प्याडको व्यवस्था गरिएको छ ।
दुई विद्यालयमा सूचना तथा सञ्चार प्रविधि र विज्ञान प्रयोगशाला कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षक तथा प्रधानाध्यापकको क्षमता विकासका लागि एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली, एकीकृत पाठ्यक्रम, सूचना प्रविधि, द्रुत सिकाइ, प्रारम्भिक बालविकास, पोषण तथा कार्यमूलक अनुसन्धानसम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
विद्यालय पोषण तथा पत्रु खाना नियन्त्रण, विद्यार्थी प्रतिभा पहिचान, अतिरिक्त क्रियाकलाप, करिअर मार्गदर्शन तथा मनोसामाजिक परामर्शका कार्यक्रमले शिक्षालाई पाठ्यपुस्तक र परीक्षामुखी प्रक्रियाबाट बाहिर ल्याउने प्रयास गरेको देखिन्छ । खेलकुदतर्फ सातौँ मेयर कप फुटबल प्रतियोगिता पनि सम्पन्न गरिएको छ ।
उपचार भन्दा रोकथामतर्फ स्वास्थ्य
स्वास्थ्य क्षेत्रमा नगरपालिकाले उपचारसँगै रोकथाम र जनचेतनालाई प्राथमिकता दिएको छ । डेंगी नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ । स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि क्षमता विकास तालिम, महिला स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तथा पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ ।
क्षयरोगमुक्त अभियानका लागि वडास्तरीय सूक्ष्म योजना निर्माण तथा स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डअनुसारका कार्यक्रम सञ्चालन गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध खोपसम्बन्धी अभिमुखीकरण तथा स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ ।
स्थानीय तहमा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन नियमित परीक्षण, रोगको प्रारम्भिक पहिचान, जनचेतना र समयमै उपचारलाई प्राथमिकता दिनुपर्ने सन्देश यी कार्यक्रमले दिएका छन् ।
कृषि उत्पादनमा मलदेखि माटो परीक्षणसम्म
कृषितर्फ नगरपालिकाले उत्पादन, प्रविधि र किसानको प्राविधिक क्षमता बढाउने कार्यक्रमलाई जोड दिएको छ । नगरका २६ सहकारीमार्फत १ हजार ५ सय ८८ दशमलव ६५ मेट्रिक टन युरिया, ९ सय ३१ दशमलव ०१ मेट्रिक टन डीएपी र २५ दशमलव ९ मेट्रिक टन पोटास गरी कुल २ हजार ५ सय ४५ दशमलव ५७ मेट्रिक टन मल किसानलाई उपलब्ध गराइएको छ ।
साना सिँचाइतर्फ कुलो निर्माण तथा मर्मत, स्यालो ट्युबवेल र मोटर–पम्पसेट जडान गरी ३२ वटा काम सम्पन्न भएका छन् । ७ सय ६८ किसानको माटो परीक्षण गरी आवश्यक प्राविधिक परामर्श दिइएको छ । धान, गहुँ र मकैका ६९ हजार ८ सय १९ किलो उन्नत बीउ तथा ८ हजार २ सय ५० किलो मूल बीउ किसान समूह, सहकारी र कृषि फर्मलाई वितरण गरिएको छ ।
चारवटा एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालन गरी १०० किसानलाई रासायनिक विषादीको सुरक्षित तथा न्यून प्रयोगबारे जानकारी दिइएको छ । दुईपटक बाली उपचार तथा विषादी सचेतना शिविरबाट ४ सय ९८ किसान लाभान्वित भएका छन् ।
रैथाने बाली प्रवद्र्धन, कृषि मेला तथा प्रदर्शनी, रोग–कीरा नियन्त्रणका लागि निःशुल्क विषादी तथा भिटामिन, गहुँ र मकैका मिनिकिट वितरणद जस्ता कार्यक्रमले कृषिलाई परम्परागत जीविकोपार्जनबाट ज्ञान, प्रविधि र बजारमा आधारित व्यावसायिक उत्पादनतर्फ लैजाने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
प्रशासनमा अभिलेख र जनशक्ति व्यवस्थापन
नगरपालिकाले प्रशासनिक व्यवस्थापनमा पनि सुधारका प्रयास अघि बढाएको छ । २३ कर्मचारीको तह वृद्धि, ११ जनाको सरुवा भई आगमन, पाँच जनाको अन्य स्थानीय तहमा सरुवा तथा पाँच कर्मचारीको अनिवार्य अवकाश भएको छ ।
भू–उपयोग योजना अनुसार कित्तागत विवरण तयार पारिएको छ भने वडा नं. ७ का २८ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा १४४ वटा सूचना विद्युतीय माध्यमबाट प्रकाशन गरिएको नगरपालिकाले जनाएको छ ।
सबै वडामा पुगेर उपभोक्ता समितिलाई तालिम दिनु, जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास गर्नु र सूचना प्रवाहलाई विद्युतीय माध्यमसँग जोड्नुले योजना कार्यान्वयनमा पारदर्शिता, जवाफदेहिता र संस्थागत क्षमता बढाउने अपेक्षा गरिएको छ । समग्रमा बाणगंगाको पछिल्लो कार्य सम्पादनले स्थानीय सरकारको भूमिका बजेट खर्च गर्ने र भौतिक संरचना निर्माण गर्ने निकायमा सीमित नरहेको सन्देश दिएको छ ।
वित्तीय अनुशासन देखि सामाजिक सुरक्षा, स्वच्छ खानेपानीदेखि गुणस्तरीय शिक्षा, रोकथाममुखी स्वास्थ्यदेखि प्रविधिमैत्री कृषिसम्मका कार्यक्रमले नगरपालिकाले नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राखेको ब्यवहारमै पुष्टी भएको उपप्रमुख रिता कुमारी चौधरीको भनाई रहेको छ ।

उपप्रमुख रिता कुमारी चौधरी
कार्यक्रमको संख्या र खर्च र त्यसले नागरिकको जीवनमा ल्याएको वास्तविक परिवर्तन, सेवाको गुणस्तर, निरन्तरता र दिगोपना नै स्थानीय सरकारको कार्यसम्पादन मापन गर्ने मुख्य आधार बन्ने अर्यालको तर्क छ । आगामी दिनमा योजनाको प्रभाव मूल्यांकन, परिणामको सार्वजनिक समीक्षा र नागरिकको प्रत्यक्ष सहभागितालाई थप बलियो बनाउन नगरपालिकाले थप योजना बनाउने अर्यालको भनाई रहेको छ ।









प्रतिक्रिया