गण्डकी

पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल



म्याग्दी, २५ असोज

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका वीरबहादुर पाइजाको परिवार विगत १५ दिनदेखि छिमेकी गाउँ घारस्थित वडा नं ६ को कार्यालय परिसरमा सञ्चालित अस्थायी आश्रयस्थलमा बस्दै आएको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोले गाउँलाई चारैतिरबाट घेरेपछि उहाँको परिवारसहित ९४ जनालाई असोज ११ गते दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी घार ल्याइएको थियो । सुरक्षित स्थानमा आश्रय पाए पनि ७० वर्षीय वीरबहादुरलाई अब आफ्नो थातथलोमा फर्किएर बस्न पाइने हो वा होइन भन्ने चिन्ताले सताउन थालेको छ । वर्षौँदेखि पसिना बगाएको गाउँ पहिरोको जोखिममा परेपछि उहाँलाई घरबार गुमाउनुपर्ने पीडाले पिरोलेको छ । “पहिरोले गाउँ घेरेपछि कतै जाने ठाउँ नपाएर हेलिकप्टरबाट उद्धार भई शिविरमा बस्दै आएका छौँ । अब त्यो ठाउँमा बसाइ होला भन्ने चिताएको छैन”, आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो, “हिउँदमा राम्रो देखिए पनि आउने बर्खामा अहिलेको भन्दा धेरै दुःख पाइने निश्चित छ ।” वीरबहादुरको जस्तै चिन्ता पाउद्धारका ६५ वर्षीय जसलाल तिलिजा र सोमप्रसाद तिलिजालाई पनि छ । पहिरोले बस्तीलाई जोखिममा पारेपछि उनीहरू आफ्नो घरमा सुरक्षित रूपमा बस्न सकिनेमा विश्वस्त हुनसकेका छैनन् । “हाम्रो आँखाले पहिरो हेर्दा पाउद्धार गाउँ बस्नयोग्य होलाजस्तो लागेको छैन”, जसलालले भन्नुभयो, “सरकारले छिटो भूगर्भविद् ल्याएर अध्ययन गरिदिए ढुक्क हुने थियौँ ।” भिरालो पाखोमा ढुङ्गाले बनेका घरहरू गुजमुज्ज रहेका पाउद्धारमा साविक शिख गाविसका तीनवटा वडा समेटिएका थिए । अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा तिलिजा पुनका अनुसार २०० भन्दा बढी घरपरिवारको बसोबास रहेको यो बस्ती अहिले पहिरोले घेरिएको छ । गाउँको भौगोलिक अवस्था र पहिरोको जोखिमका कारण स्थानीयवासी अलमल र अन्योलमा परेका उपाध्यक्ष पुनले बताउनुभयो । गाउँमा दिनभरि, आश्रयस्थलमा रात पहिरोको त्रासका कारण पाउद्धारका केही बासिन्दा घर छाडेर आश्रयस्थलमा बसे पनि घरगोठमा रहेका पशुचौपायाको हेरचाहका लागि गाउँ आवतजावत गर्न बाध्य छन् । पाउद्धारकी रमाया तिलिजा बिहानै घर पुगेर गाईवस्तुलाई घाँसपानी दिने र साँझ परेपछि पहिरोको डरले पुनः घारस्थित आश्रयस्थलमा फर्किएर सुत्ने गर्नुहुन्छ । सोमप्रसाद तिलिजाको घरछेउमै पहिरो आएको छ भने घरको एउटा कोठासमेत भत्किएको छ । यस्तो अवस्थामा घरमै बसेर दैनिक जीवनयापन गर्न कठिन भएको उहाँले बताउनुभयो । “गाउँमा फर्किएर सुरक्षित तरिकाले बस्न सकिन्छ जस्तो लागेकै छैन”, उहाँले भन्नुभयो, “सरकारले सुरक्षित ठाउँ खोजेर बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो ।” पाउद्धारवासीको माग गाउँ बस्नयोग्य छ वा छैन भन्ने विषयमा प्राविधिक अध्ययन गरी स्पष्ट निष्कर्ष निकाल्नुपर्ने भन्ने छ । भूगर्भविद्को टोलीबाट बस्तीको अध्ययन गराएर प्राप्त प्रतिवेदनका आधारमा पुनःस्थापना वा स्थानान्तरणको योजना बनाउनुपर्ने उनीहरूको भनाइ छ । सडक, सञ्चार र विद्युत् सम्पर्कविहीन बस्ती असोज ११ गतेदेखि पाउद्धार सडक, सञ्चार र विद्युत् सुविधाबाट विच्छेद भएको छ । बस्तीको अवस्था र पहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गर्न स्थानीय जनप्रतिनिधिबाहेक सरकारी निकायका टोलीसमेत सहज रूपमा पुग्न सकेका छैनन् । अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष पुनका अनुसार घार हुँदै पाउद्धार जाने पदमार्ग सामान्य मर्मत गरेर आवतजावत गर्न मिल्ने बनाइएको छ । यद्यपि, पहिरोको जोखिम कायम रहेकाले बस्तीमा सहज र सुरक्षित आवागमनको अवस्था छैन । “बस्नलायक नभएका घरका मानिसलाई उद्धार गरेर आश्रयस्थलमा राखेका छौँ । गाउँमा भएकाहरू पनि पहिरोको त्रासमा छन्”, उहाँले भन्नुभयो । मौजुदा खाद्यान्न सकिएपछि गाउँमा भएकाहरूलाई समस्या पर्न थालेको छ । बस्तीको वास्तविक अवस्था, पहिरोको फैलावट र जोखिमको प्राविधिक मूल्याङ्कन हुन नसक्दा स्थानीयवासीले आफ्नो भविष्यबारे निर्णय गर्न सकेका छैनन् । तत्काल सुरक्षित बसोबासको व्यवस्था गर्नुका साथै दीर्घकालीन समाधानका लागि सरकारले पहल गर्नुपर्ने उनीहरूको माग छ । भूगर्भविद्को अध्ययनपछि पुनःस्थापनाको योजना गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी गणेश गैरे र प्रहरी नायब उपरीक्षक राजन कार्कीसहितको टोलीले गत हप्ता घारस्थित अस्थायी आश्रयस्थलको निरीक्षण गरेको थियो । टोलीसमक्ष पाउद्धारवासीले आश्रयस्थलको बसाइ र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै छिट्टै गाउँ फर्किने वा अन्यत्र स्थानान्तरण हुने वातावरण मिलाइदिन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी गैरेले पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाका पहिरो प्रभावित क्षेत्रको अध्ययन गर्न भूगर्भविद्को टोली परिचालन गर्ने तयारी भइरहेको बताउनुभयो । “छिट्टै पाउद्धारलगायत अन्नपूर्ण गाउँपालिकाका सबै पहिरोको अध्ययनका लागि भूगर्भविद्को टोली परिचालन गर्दैछौँ”, उहाँले भन्नुभयो, “प्राविधिक टोलीको प्रतिवेदन र सुझावअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका योजना कार्यान्वयन गर्छौँ ।” प्राविधिक अध्ययनबाट बस्तीको जोखिम पहिचान भएपछि मात्रै सुरक्षित बसोबास, पुनःस्थापना वा स्थानान्तरणका विषयमा ठोस निर्णय लिन सकिने सरकारी अधिकारीहरूको भनाइ छ । त्यसैले पाउद्धारवासी अहिले आफ्नो गाउँको भविष्य निर्धारण गर्ने प्राविधिक अध्ययनको प्रतीक्षामा छन् । अन्नपूर्णमा बाढीपहिरोबाट ठूलो क्षति अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ अन्तर्गत पर्ने साविक शिख गाविसको गिवाङमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको थियो । पाउद्धारका छिमेकी गाउँ गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङमा पनि पहिराले निजी आवास, सडक, खानेपानी तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार बाढीपहिरोमा परी पालिकाभर छ जनाको मृत्यु भएको छ । विपद्का कारण ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । क्षतिको सङ्ख्या अझै थपिन सक्ने अध्यक्ष पुनले बताउनुभयो । विपद्बाट विस्थापित परिवारलाई सुरक्षित राख्न गाउँपालिकाले तीन स्थानमा अस्थायी आश्रयस्थल सञ्चालन गरेको छ । घारबाहेक शिखस्थित आश्रयस्थलमा किन्दु, घिरवाङ र धोस्केखोरका ९१ जना तथा काफलडाँडाको शिरुवारीस्थित आश्रयस्थलमा महभिरका ७० जनालाई राखिएको छ । तीनवटै आश्रयस्थलमा गरी २५५ जना प्रभावितले आश्रय लिएका छन् । थप १५६ जना प्रभावित आफन्त तथा छिमेकीको घरमा बस्दै आएका छन् । बाढीपहिरोबाट प्रभावित परिवारको सुरक्षित बसोबास, जोखिमयुक्त बस्तीको संरक्षण तथा स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको अध्यक्ष पुनले बताउनुभयो । यी कार्यका लागि सङ्घीय तथा प्रदेश सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरिएको उहाँको भनाइ छ । पहिरोले बस्तीलाई जोखिममा पारेपछि पाउद्धारवासीका लागि अहिले सबैभन्दा ठूलो प्रश्न आफ्नो घर फर्किएर बस्न सकिने अवस्था रहन्छ वा सुरक्षित स्थानमा नयाँ बसोबासको व्यवस्था गर्नुपर्ने हुन्छ भन्ने नै हो । भूगर्भविद्को अध्ययन र त्यसका आधारमा बन्ने सरकारी योजनाले मात्रै उनीहरूको अनिश्चित भविष्यलाई निकास दिन सक्ने देखिन्छ । —

प्रकाशित : २५ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६