रूपन्देही, २६ असोज
दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई केन्द्रित गरेर बुटवल बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्रुलाई सुरक्षित यात्रा गर्न सहयोग पुर्याउने, सम्भावित ठगी नियन्त्रण गर्ने र ट्राफिक नियमको पालना गराउने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र इलाका प्रहरी कार्यालयले विभिन्न यातायात व्यवसायी संस्थासँगको सहकार्यमा सहायता कक्ष सञ्चालन गरेका हुन् । यसमा पश्चिम नेपाल बस व्यवसायी प्रालि, बुटवल यातायात प्रालि, सिद्धार्थ, श्रीनगर, गुल्मी जिप तथा देउराली यातायातको सहकार्य छ । सहायता कक्षको शुभारम्भ गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक निशान थापाले नागरिकलाई सहज सेवा प्रदान गर्न प्रहरी र समुदायबीचको समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले सहायता कक्षबाट यात्रुको समस्या समाधान, सडक सुरक्षासम्बन्धी जानकारी र ट्राफिक नियम पालनाबारे सचेतना अभिवृद्धि गरिने जानकारी दिनुभयो । उहाँका अनुसार सवारीसाधनको गति सीमित राख्ने, अनावश्यक हर्न नबजाउने, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा यात्रु र चालकलाई सचेत गराइनेछ । यात्राका क्रममा समस्या परेका नागरिकलाई आवश्यक परामर्श र सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले बुटवल बसपार्कको भौतिक तथा व्यवस्थापकीय सुधार अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो । “उज्यालो र सफा बसपार्क बनाउने विषयमा धेरै कुरा भए पनि अपेक्षाअनुसार सुधार गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । उहाँले यात्रु ठगी रोक्न बसपार्कमा कार्यरत कर्मचारीको परिचय खुल्ने गरी आवश्यक व्यवस्था गरिएको र टिकट काउन्टरबाट मात्रै टिकट खरिद गर्नुपर्ने प्रबन्ध मिलाइएको बताउनुभयो । सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै उहाँले नियम उल्लङ्घन गर्नेमाथि प्रभावकारी अनुगमन र कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । यात्रुको सुरक्षा, ट्राफिक सचेतना र यात्राका क्रममा आइपर्ने समस्यामा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको नागरिक सहायता कक्ष आगामी कात्तिक ३ गतेसम्म सञ्चालन गरिने जनाइएको छ । –––









प्रतिक्रिया