डिलाराम भुसाल
कपिलवस्तु, ३१ असोज
अमर प्रहरीको त्याग र बलिदानको स्मरण, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीको सम्मान तथा प्रहरी–नागरिक सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ७१ औँ प्रहरी दिवस मनाएको छ।
प्रहरी दिवसका अवसरमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई कदरपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यस्तै, प्रहरी सेवालाई सहयोग पु¥याउने विभिन्न संघसंस्था, बुद्धिजीवी तथा समाजसेवीलाई सम्मान गर्नुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। सीमित स्रोतसाधनका बाबजुद प्रहरीले नागरिकको सुरक्षाका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै उहाँले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुमधुर, विश्वासिलो र सहकार्यमा आधारित बनाउनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रमका अध्यक्ष एवं जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्नु प्रहरीको प्रमुख दायित्व भएको बताउनुभयो। प्रहरी संगठनको गौरवपूर्ण इतिहास र गरिमालाई कायम राख्दै नागरिकमैत्री सेवा, अनुशासन तथा व्यावसायिकतालाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो।
प्रहरी उपरीक्षक भट्टले अमर प्रहरीको त्याग र बलिदानले संगठनलाई थप जिम्मेवार र कर्तव्यनिष्ठ बन्न प्रेरित गरेको उल्लेख गर्दै उनीहरूको योगदान सदैव स्मरणीय रहने बताउनुभयो। जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा सहयोग पु¥याउने नागरिक, संघसंस्था तथा सम्पूर्ण सरोकारवालाप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, प्रमुख सेनानी प्रल्हाद थापा, सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी, जिल्ला न्यायाधिवक्ता कृष्णचन्द्र पाण्डे, प्रमुख लेखा नियन्त्रक खगेन्द्रप्रसाद अर्याल, अनुसन्धान अधिकृत हिरण्डबहादुर कुँवर तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाललगायतको उपस्थिति थियो।
त्यस्तै, उद्योगी, व्यवसायी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, अमर प्रहरीका परिवार तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक रेपिन्द्रकुमार सिंहले स्वागत मन्तव्य राख्दै प्रहरी दिवसको महत्त्व र समाजमा प्रहरी संगठनले निर्वाह गर्दै आएको भूमिकाबारे प्रकाश पार्नुभएको थियो। प्रहरी निरीक्षक दीपक कुँवरले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रहरी–नागरिक सहकार्य, सामाजिक उत्तरदायित्व र शान्ति सुरक्षा कायम गर्न सबै पक्षको भूमिकालाई महत्त्वका साथ प्रस्तुत गरिएको थियो।

विसं २०१२ असोज ३० गते प्रहरी ऐन, २०१२ लागू भएको ऐतिहासिक दिनको सम्झनामा नेपाल प्रहरीले प्रत्येक वर्ष असोज ३० गते प्रहरी दिवस मनाउँदै आएको छ। यो दिवस कर्तव्य पालनाका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीप्रति सम्मान व्यक्त गर्ने अवसर मात्र नभई नागरिकको सुरक्षा, सेवा र न्यायका लागि प्रहरी संगठनले निर्वाह गर्नुपर्ने जिम्मेवारीलाई पुनः स्मरण गर्ने दिनसमेत हो।
अमर प्रहरीको बलिदानलाई सम्मान गर्दै नागरिकको विश्वास, सहकार्य र सहभागितामा शान्तिपूर्ण समाज निर्माण गर्ने प्रतिबद्धता प्रहरी दिवसको मुख्य सन्देशका रूपमा रहेको छ।









प्रतिक्रिया