कर्णाली

‘दसैँ गाउँमा नै रमाइलो’



कर्णाली, २ कात्तिक

बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइचो छ । हवाई होस् या स्थलमार्ग दुवैतिर यात्रुहरुलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याई नभ्याई छ यद्यपि टिकट पाउन पनि त्यत्तिकै सकस छ । पैसा भएपनि भने जस्तो सहज यात्रा भने ती यात्रुहरुले गर्न पाएका छैनन् । यात्रा निकै कष्टकर र महंगो पनि छ तर दशैंमा परिवार, आफन्त तथा ईष्टमित्रसँग भेट हुने आशाले उनीहरुलाई सहनुको विकल्प हुदैन । कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँमा पुग्नेहरुको यात्रा अँझ बढी जटिल र पट्यार लाग्दो बन्ने गर्छ तथापि घर पुग्ने र दसैँ मनाउने व्यग्र चाहानाले पीडादायी यात्राको प्रतिकूल अवस्थालाई उनीहरुले अनुकूल बनाउँदै लगेको पाइन्छ । अमेरिका, युरोप भन्दा कामका लागि खाडी मुलुक तथा कालापहाड (भारत)बाट दसैँमा घर फर्कने प्रदेशीहरु परिवारसँग हुने मिलनको आशाले खर्चिलो यात्रा र बाटोमा हुने दुःखलाई भुल्दै दिनहुँ यात्रामा हिडिरहेका छन् । वषौंसम्म भेट्न नपाएका परिवारका सदस्यहरु, भेट्नका लागि धेरै सपना बुनेका आफन्त तथा संगी संगिनीहरुका लागि दसैँ तथा तिहार वास्तवमै सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भाव अभिव्यक्त गर्ने संगम बनिदिएर होला, सहर छोडेर गाउँ हानिनेहरु खुसी मुद्रामा देखिन्छन् । भारत बैंगलोरबाट घर फर्केका तिला गाउँपालिका ४ जुम्लाका नमराज शाहीले सहरको कोलहालबाट गाउँ फर्कदाँ शान्तिभूमि पुगेको अनुभूति भएको बताउनुभयो । दसैँ मनाउन आफु गाउँ पुगिसकेको बताउँदै उहाँले भन्नुभयो, “गाउँमा घरहरु छुट्टा छुट्टै छन् तर सोच, मन र मानवीय भावनाहरु अति नजिक छन् । बिडम्बना, सहरमा घरहरु जोडिएका भएपनि मानवीय भावना र आपसी सद्भावको खडेरी मात्र भेटिन्छ । मानव सम्बन्धमा दरार जस्तो देखिन्छ ।” उहाँले दसैँको यो अवसरमा सहर भन्दा गाउँमा निकै रमाईलो सुरु भएको बताउनुभयो । शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत, मासलगायतका अन्नबाली भित्र्याउने, भर्खरै भित्र्याएका अन्नबालीहरु न्वागीका रुपमा खाने, आफूसँग भएका उत्पादनहरुहरु छिमेकीहरुबीच आदानप्रदान गर्ने र पीङ खेल्दै र दुःख सुख बाँड्दै रमाईलो लिने काम भइरहेको छ । यात्राका हिसाबले कर्णाली राजमार्ग भएर दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु र सुर्खेत हुँदै भेरी करिडोर भएर सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुहरुलाई निकै पीडाका साथ घर पुग्नुपर्ने बाध्यता छ । यद्यपि काम तथा रोजगारीको सिलसिलामा घर छोडेर देश तथा विदेशका विभिन्न भागबाट बडादशैं मनाउन घर जानेको चटारो कायमै छ । सुर्खेत—दैलेख—कालीकोटदेखि कर्णाली करिडोर भएर बाजुरा हुँदै हुम्लाको यात्रा गर्नुभएका अदानचुली गाउँपालिका हुम्लाका मनरुप परियार दुई दिन लगाएर घर पुगेको बताउनुभयो । परियारले भन्नुभयो, “दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिड्नु पनि पर्यो । आज बिहान मात्र घर पुगिएको छ । सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ । मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ ।” नागरिकहरु दसैँ तथा दिपावली मनाउन मातृभूमि फर्के पछि सहरमा मानसिहरुको ओहोरदोहोर र चहलपहल घट्दै गएको छ । सहरको आधा जसो जनसंख्या गाउँ फर्केपछि रमझम पनि कम छ । विमानस्थल र बसपार्कमा गाउँ जानेकै मात्र भीड छ । ईश्वरपुर नगरपालिका ३ सर्लाहीदेखि जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले यात्राको दुखाईलाई भन्दा आफ्नो मातृभूमि भेट्ने रहरले जितेको बताउनुभयो । “रोजगारी र अवसरका हिसाबले घर छोडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो,” उहाँले भन्नुभयो, “सामाजिक अपराध, “चिच्याहट, अमानवीयता र सहयोग आदानप्रदानका दृष्टिले सहर भन्दा गाँउ नै सम्पन्न छन् । सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको अनुभास हुन्छ ।” यात्रु सिंहले यतिबेला सहर भन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र बडादशैंको बहारले उमंगित र रंगीन बन्दै गएको बताउनुभयो । –––

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६