ब्रेकिंग न्युज

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित



म्याग्दी, २ कात्तिक

पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् । गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिनुभयो । “थप १४० घर जोखिममा रहेका विवरण सङ्कलन भएको छ”, उहाँले भन्नुभयो, “बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ ।” सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका–८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावित मध्य अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ । फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिनुभयो । “पहिरोले बस्ती घेरिएको छ । पाखो चिराचिरा परेको छ भने घरका पर्खालसमेत सुरक्षित छैनन्”, उहाँले भन्नुभयो, “त्यसैले खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित ठाउँमा आएर अस्थायी टहरा बनाएर बसेका छन् ।” प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । “तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ”, उहाँले भन्नुभयो, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।” उहाँका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : ३ कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६