अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा सीमामा हतियार थप्ने चेतावनी



सियोल, ३ कात्तिक (रासस\एपी):

उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने र लाउडस्पीकरबाट प्रचार प्रसारण पुनः सुरु गर्ने चेतावनी दिएको छ । सीमा क्षेत्रमा बारुदी सुरुङ विस्फोट र सैनिक गतिविधिलाई लिएर तनाव बढिरहेका बेला उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले सोमबार यस्तो चेतावनी दिनुभएको हो । दक्षिण कोरियाले सेप्टेम्बर २१ मा भएको खानी विस्फोटमा उत्तर कोरिया जिम्मेवार रहेको आरोप लगाउँदै माफी माग्न र अन्य खानी हटाउन आग्रह गरेको थियो । उत्तर कोरियाले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । किम यो जोङले दक्षिण कोरियाली सेनाले अगस्टदेखि सीमा पार गर्ने उत्तर कोरियाली सैनिकमाथि चेतावनी गोली चलाउने र प्रसारण गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले सीमामा सम्भावित घटनाको सामना गर्न थप रणनीतिक हतियार तैनाथ गर्ने विचार भइरहेको बताउनुभयो । दक्षिण कोरियाका संयुक्त सेना प्रमुख जिन योङ–सुङले उत्तर कोरियाको चेतावनीलाई अस्वीकार्य बताउँदै सम्भावित उक्साहटको कडा जवाफ दिन निर्देशन दिनुभएको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाली सैनिकले यस वर्ष सीमामा किल्लाबन्दी निर्माण गर्दा ५० पटक सीमा रेखा उल्लङ्घन गरेका छन् । उत्तर कोरियाले पछिल्ला वर्षमा सीमामा बारुदी सुरुङ बिछ्याउने, काँडेतार लगाउने र ट्याङ्कविरोधी अवरोधसहितका सैन्य संरचना थप्दै आएको छ । सन् २०१५ मा खानी विस्फोटमा दक्षिण कोरियाका दुई सैनिक घाइते भएपछि सीमापार लाउडस्पीकर प्रसारण सुरु भएको थियो । दुवै देशले यस्तो प्रसारणलाई मनोवैज्ञानिक युद्धका रूपमा प्रयोग गर्दै आएका छन् । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले गत वर्ष सम्बन्ध सुधार्ने प्रयासस्वरूप सीमापार प्रसारण रोक्नुभएको थियो । त्यसपछि उत्तर कोरियाले पनि आफ्ना प्रसारण बन्द गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ–उनसँग कूटनीतिक संवाद पुनः सुरु गर्ने प्रयास गरिरहेका बेला पछिल्लो सीमा तनावले दुई देशबीचको सम्बन्धमा थप चुनौती सिर्जना गरेको छ । –––

प्रकाशित : ४ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६