म्याग्दी, ७ कात्तिक
बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यस सडकका विभिन्न स्थानमा गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदी कटानले ठूलो क्षति पु¥याएको हो । बेनीदेखि धौलागिरि गाउँपालिकाको केन्द्र मुनासम्मको सडकमा करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । बाढीपहिरो र नदी कटानले सडकको सतह भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाउँदा पूर्वाधारमा ठूलो क्षति पुगेको कार्यालयका इन्जिनियर मोहन रुवालीले जानकारी दिनुभयो । उहाँका अनुसार बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा साना तथा ठूला पहिरो खसेर सडक संरचनामा क्षति पुगेको छ । नदी कटानका कारण दुई स्थानमा सडक भत्किएको छ । यस खण्डमा मात्रै सडक पूर्वाधारमा रु तीनदेखि चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मालिका गाउँपालिका–६ स्थित बलौटेमा म्याग्दी नदी कटानले करिब १०० मिटर कालोपत्र सडक बगाएर क्षतविक्षत बनाएको छ । पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेर सडकमा क्षति पुगेको छ । त्यस्तै, दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचनामा क्षति पु¥याएको छ । सडकमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ । बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडकबाट यातायात सञ्चालन गरिएको छ । साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन आवतजावत गर्न समस्या हुने गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले बलौटेमा करिब एक सय मिटर सडक नदी कटानले डिलदेखि कुनासम्मै भत्किएकाले तत्काल नियमित सडक सञ्चालन गर्न कठिन भएको बताउनुभयो । उहाँका अनुसार क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम छ । सडकलाई पुनः सञ्चालनयोग्य बनाउन खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गरी सडक पुनर्निर्माण गर्नुपर्ने आवश्यकता छ । बेनी–पानाबगर खण्डको पुननिर्माणका लागि रु चार करोड ६२ लाख ५६ हजार २० र पानाबगर–दरवाङ खण्डको बालौटे खण्डमा पुनःनिर्माणका लागि रु दुई करोड २७ लाख ४३ हजार ५९९ लागन अनुमान गरिएको कार्यालय प्रमुख उलकले बताउनुभयो । बालौटेको सडक पुननिर्माणका लागि प्रदेश सरकारले रु २५ लाख स्रोत सुनिश्चित गरेको र दसै लगत्तै काम सुरु गरिने उहाँले बताउनुभयो । म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य जुग्जालीले आवश्यक बजेट व्यवस्था गरेर क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको बताउनुभयो । अहिले पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको कार्यालयले जनाएको छ । फापरखेत पहिरोको कारण शनिबार यता पखेर–बरङ्जाङ–सातबिसे–बाबियाचौर वैकल्पिक सडक सञ्चालन गरिएको छ । बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर ४०० मिटर खण्ड कालोपत्र भएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि मुनासम्मको १८ किलोमिटर मध्य धारापानी–झिनडाडा खण्डको छ किलोमिटरबाहेक बाँकी निर्माणाधीन छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्वपूर्ण मार्ग हो । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट खोरिया, मरेनी, जलजला र गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने सडकको मार्ग गत पुसमा खुलेको थियो । –––









प्रतिक्रिया