कपिलवस्तु ७ कार्तिक ।कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत करिब २५० जना कर्मचारीका लागि यस वर्षको दशैँ खल्लो बनेर गएकोछ। अन्य निकायका कर्मचारीहरूले दशैँ खर्च र पेश्की पाएर हर्षोल्लासका साथ चाडपर्व मनाइरहँदा यशोधराका कर्मचारीहरू भने आवश्यक खर्चसमेत नपाएर निराश भएका हुन। लेखा अधिकृत र लेखापालको अभावका कारण भुक्तानी प्रक्रिया अगाडि बढ्न नसकेपछि यो समस्या उत्पन्न भएको हो। गाउँपालिकाका सामाजिक विकास अधिकृत बैतुल्लाह धुनियाका अनुसार चाडपर्वका बेला नियमित सेवामा खटिने कर्मचारीले पाउनुपर्ने रकमसमेत नपाउनु प्रदेश सरकारको प्रशासनिक व्यवस्थापनको ठूलो कमजोरी हो।गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले लेखा अधिकृत निराजन लम्सालको सरुवा भएपछि लुम्बिनी प्रदेश सरकारले अर्को कर्मचारी नखटाएकाले आर्थिक कारोबार ठप्प भएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत बलराम यादवका अनुसार गाउँपालिकामा लेखा अधिकृत र लेखापाल दुवैको पद रिक्त छ। लेखापाल पठाइदिन कोष तथा लेखा नियन्त्रण कार्यालयमा पटक–पटक ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ।यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं प्रदेश सचिव नारायणप्रसाद अर्यालले यशोधराको समस्याबारे आफूहरू जानकार रहेको बताउनुभयो। सरुवा दशैँ बिदा सुरु हुने हप्तामा मात्र भएको, पूर्व लेखा अधिकृतले रमाना लिइनसकेको र प्रदेशका प्रमुख सचिव विराटनगरमा आयोजित सम्मेलनमा जानुपरेकाले तुरुन्त अर्को कर्मचारी खटाउन नसकिएको उहाँको दाबी छ। कार्यालय खुलेपछि नयाँ कर्मचारी खटाइने आश्वासन दिँदै उहाँले उत्पन्न असुविधाप्रति दुःखरभहउचभककभम गर्नुभयो। यो घटनाले प्रदेश सरकार, कोष तथा लेखा नियन्त्रण कार्यालय र स्थानीय तहबीचको फितलो समन्वयलाई उजागर गरेको छ। कर्मचारी सरुवा हुँदा समयमै वैकल्पिक व्यवस्था नगर्नाले २५० कर्मचारी र तिनका परिवारले सास्ती भोग्नुपरेको छ। चाडपर्व जस्तो संवेदनशील समयमा कर्मचारीको हक–अधिकार रोकिनुको जिम्मेवारी कसले लिने र उनीहरूलाई परेको मर्काको क्षतिपूर्ति कसरी हुन्छ भन्ने प्रश्न अझै अनुत्तरित छ।
८ कार्तिक २०८३, शनिबार









प्रतिक्रिया