देश

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न



ललितपुर, ८ कात्तिक

पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक विधि र परम्पराका साथ सम्पन्न भएको मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेव श्रेष्ठले जानकारी दिनुभयो । “गौरवशाली इतिहास, मौलिक संस्कृति र जीवन्त परम्पराको प्रतीक मानमानेश्वरी भवानीको पायो जात्रा एक महत्वपूर्ण संस्कृति हो, आस्था, श्रद्धा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक विरासतको अनुपम उत्सव हरेक वर्ष हर्षोउल्लासका साथ मनाइने प्रचलन छ, ललितपुरको ऐतिहासिक सांस्कृतिक परम्परासँग अभिन्न रूपमा जोडिएको यो जात्राले हाम्रो धार्मिक विश्वास, गुठी परम्परा र सामुदायिक एकतालाई जीवन्त राख्दै आएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो । अध्यक्ष श्रेष्ठका अनुसार मानमानेश्वरी भवानीलाई लिच्छविकालीन समयदेखि नै शक्तिपीठ र राजकीय देवीका रूपमा पूजा गरिँदै आएको मानिन्छ । जात्राको मुख्य आकर्षण देवगण वा गुठियारहरूले हातहातमा खड्ग (तरवार) बोकेर परम्परागत पहिरन र मुकुण्डो लगाएर बाजागाजाका साथ सहर वा बस्ती परिक्रमा गर्नु हो । पायो (खड्ग) जात्रा ललितपुरको पाटन दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन संस्कृति बोकेको सबैभन्दा पुरानो परम्परागत जात्रा हो । नवमीका दिन महालक्ष्मीस्थानबाट थसिमलः पायो जात्रा सञ्चालन गरिएको थियो भने दशमीको साँझ मूलचोकबाट मंगलबजार चौबाटोमा श्री भवानी र श्री नवदुर्गाबीचको पावन मिलन गरी त्रयोदशीका दिन मानमानेश्वरी भवानीलाई मूल चोकबाट मुछेँ आगम घरमा पुनः विराजमान गराएपछि पायो जात्रा सम्पन्न भएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भन्नुभयो, “यो केवल एउटा जात्रा मात्र होइन, हाम्रो पहिचान हो । हाम्रा पुर्खाको विरासत हो । यो हामीले हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमुल्य सांस्कृतिक सम्पत्ति हो । यस वर्ष जात्रा सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ, अर्को वर्षका लागि सहज बनाउन हामीले के गर्नु पर्छ, सरोकारवालाहरुको सुझावअनुसार गर्नुपर्ने त्यो सबै काम गर्छौँ ।” उहाँले आर्थिक अभावका कारण समुदाय र समाजको जीवन्त इतिहास बोकेको ऐतिहासिक, पौराणिक जात्रा पर्वहरु सञ्चालनका लागि आर्थिक अभाव र कठिनाई हुन नदिन ललितपुर महानगरपालिकाले हरतरहले सहयोग उपलब्ध गराउने बताउनुभयो ।

प्रकाशित : ९ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६