ब्रेकिंग न्युज

शिक्षकले छोराछोरी सामुदायिक विद्यालयमै पढाउँदा…



तुलसीपुर (दाङ), ९ कात्तिक

दङ्गीशरण गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय बुटनिया विगत ६ वर्षअघिसम्म भौतिक पूर्वाधारका हिसाबले कमजोर र विद्यार्थी सङ्ख्याका हिसाबले अत्यन्त न्यून थियो । तर, २०७६ सालमा कक्षा ६ देखि अध्ययन अध्यापन सुरु गरेको यस विद्यालयले त्यसयता शैक्षिक क्षेत्रमा सुधार गर्दै हरेक परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । हालसम्म यस विद्यालयबाट एसइईका चार वटा ‘ब्याच’का विद्यार्थीहरूले परीक्षा दिइसकेका छन् । परीक्षाको समग्र नतिजालाई हेर्दा एसइईका साथै कक्षा ८ को परीक्षामा पनि पश्चिम दाङकै सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक क्रिमलाल थारूले बताउनुभयो । उहाँका अनुसार गत वर्षको एसइई परीक्षामा विद्यालयका ६ जना विद्यार्थीले ‘ए प्लस’ ल्याएका थिए भने ८१ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण गराउन सफल भएको थियो । शिक्षक तथा कर्मचारीहरू विद्यालयप्रति पूर्ण रुपमा जिम्मेवार भएमा सफल भइन्छ भन्ने उदाहरण दिन सफल भएको प्रअ थारूको भनाइ छ । २०७६ सालदेखि नै विद्यालयमा कार्यरत सबै शिक्षक, कर्मचारीका छोराछोरीहरूलाई अनिवार्य रूपमा यही विद्यालयमा पढाउने निर्णय गरेर लागू गरिएको छ । त्यसले गर्दा पनि विद्यालयले यो नतिजा ल्याउन सफल भएको उहाँको भनाइ छ । “मेरै छोरीले दुई वर्षअघि यही विद्यालयबाट एसइई दिएकी हुन्”, उहाँले भन्नुभयो, “अन्य सबै कर्मचारीका बालबालिकाहरू पनि यहीँ अध्ययनरत हुनुहुन्छ ।” विद्यार्थीहरूलाई गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्न विद्यालयमा प्रविधिको प्रयोग गरिएको छ । विद्यालयमा विषयवस्तुअनुसार अध्यापन गराउन तीन वटा स्मार्ट बोर्डको प्रयोग भइरहेको छ । साथै विद्यार्थीहरूको व्यावहारिक सिकाइका लागि एउटा विज्ञान प्रयोगशाला र अध्ययनका लागि पुस्तकालयको व्यवस्था गरिएको छ । साथै विद्यालयको आफ्नै चमेना गृह पनि रहेको छ । जहाँबाट खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । शौचालयको समस्या विद्यालयले केही भौतिक पूर्वाधार र जनशक्तिको भने समस्या खेप्नु परेको छ । विद्यार्थी सङ्ख्या बढ्दै जाँदा भवनहरूको अवस्था तथा शौचालयको भने चरम अभाव देखिएको छ । छात्राका लागि दुई वटा र छात्रका लागि एउटा मात्र शौचालय रहेको छ । जसले गर्दा विद्यार्थीहरुले शौचालय जाँदा लाइन लाग्नुपर्ने अवस्था रहेको छ । शिक्षक तथा कर्मचारीहरूका लागि छुट्टै शौचालयको व्यवस्था छैन । हाल सोही विद्यालयमा दुई जना विद्यालय कर्मचारी र १५ जना शिक्षक कार्यरत रहका छन् । अहिले विद्यालयमा ४५० बढी विद्यार्थी अध्ययनरत छन् । विक्रम संवत् २०५२ मा स्थापना भएको उक्त विद्यालयलाई २०७६ सालदेखि स्तरवृद्धिको पहल थालिएको थियो । तत्कालीन गाउँपालिकाका शिक्षा समितिका संयोजक वीरबहादुर वलीका अनुसार एक करोड बजेट विनियोजन गरेर भवन निर्माण गरिएको थियो । त्यसपछि कक्षा थप गरेर अगाडि बढाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार जहाँ विद्यार्थी, त्यहाँ शिक्षक अभियान थालेर केही शिक्षकहरु पनि थप गरेपछि शिक्षामा सुधार आएको उहाँले बताउनुभयो ।

प्रकाशित : १० कार्तिक २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६