नेपालगञ्ज (बाँके), १० कात्तिक
कोहलपुर नगरपालिका–११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल बस्नेत यतिबेला पान खेतीमा व्यस्त हुनुहुन्छ । उहाँले पाँच वर्षअघि एउटा मीठा पानको बिरुवा रोपेर खेती सुरु गर्नुभएको थियो । अहिले उहाँको घरमा पानको लहरा करिब तीन धुर क्षेत्रफलमा फैलिएको छ । सामान्य हेरचाह, कम्पोस्ट मल र पानीको प्रयोगबाट पात उत्पादन भइरहेको उहाँले बताउनुभयो । पानको बिरुवालाई चिस्यानयुक्त र ओसिलो वातावरण आवश्यकपर्ने भएकाले उपयुक्त स्थान र खेती व्यवस्थापन गर्नसके बाँकेको हावापानी तथा भौगोलिक अवस्थाले उत्पादनमा बढावा दिनसक्ने उहाँको अनुभव छ । “एउटा बिरुवाबाट सुरु गरेको खेती पाँच वर्षमा तीन धुर क्षेत्रमा फैलिएको छ । रासायनिक औषधिको प्रयोग नगरी कम्पोस्ट मल र पानीबाटै पात उत्पादन भइरहेको छ । यसले बाँकेमा पनि पान खेतीको सम्भावना देखाएको छ”, बस्नेतले भन्नुभयो । उहाँका अनुसार नेपालमा धार्मिक, सांस्कृतिक कार्यमा पानको पातको नियमित माग रहे पनि स्वदेशी उत्पादन पर्याप्त नहुँदा आयातमा निर्भर हुनुपर्ने अवस्था छ । स्थानीयस्तरमै व्यावसायिक उत्पादन गर्नसके किसानका लागि नयाँ आम्दानीको स्रोत सिर्जना हुनुका साथै आयात प्रतिस्थापनमा योगदान पुग्नसक्छ । बस्नेतसँग हाल करिब १० कठ्ठा क्षेत्रफलमा खेती गर्न पुग्ने पानका बिरुवा छन् । उहाँले पानखेती गर्न इच्छुक व्यक्तिलाई निःशुल्क बिरुवा उपलब्ध गराउँदै आउनुभएको छ । उहाँले बाँकेमा यसको व्यावसायिक सम्भाव्यताको अध्ययन गरी उत्पादन विस्तारको योजना बनाउनेतर्फ लागिपरेको उहाँको भनाइ छ । पानखेतीको सम्भावनालाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न सरकारी निकायको अनुसन्धान र प्राविधिक सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार व्यावसायिक उत्पादन सुरु गर्नुअघि माटोको अवस्था, तापक्रम, चिस्यान, उपयुक्त जात, रोगकीरा व्यवस्थापन तथा उत्पादन क्षमताबारे अध्ययन गर्न आवश्यक छ । त्यसैगरी बजारको माग, उत्पादन लागत, बिक्री मूल्य, पातको गुणस्तर, भण्डारण र ढुवानी व्यवस्थाबारे पनि स्पष्ट योजना बनाउनुपर्छ । घरायसी तहमा गरिएको नमुनाखेती सफल हुँदैमा ठूलो क्षेत्रफलमा उत्पादन पनि सफल हुन्छ भन्ने निष्कर्ष निकाल्न नसकिने उहाँको भनाइ छ । त्यसैले कृषि अनुसन्धान गर्ने निकायले परीक्षण गरी खेतीको उपयुक्तता र उत्पादन क्षमताबारे निष्कर्ष निकाल्नुपर्ने उहाँको धारणा छ । “सम्बन्धित निकायले अनुसन्धान गरेर पान खेतीको सम्भावना प्रमाणित गरिदिनुपर्छ । सरकारीस्तरबाट पहल र प्राविधिक सहयोग भए व्यावसायिक उत्पादन गर्न सकिन्छ । यसले किसानको आम्दानी बढाउनुका साथै विदेशबाट आउने पानको पातको आयात घटाउन पनि सहयोग गर्छ”, उहाँले भन्नुभयो । पानको पात नेपाली समाजमा विवाह, पूजाआजा, व्रतबन्धलगायतका शुभकार्यमा प्रयोग हुँदै आएको छ । बस्नेत पान खेतीको सम्भावना खोज्नेमै सीमित हुनुहुन्न । उहाँले कोदो, जङ्गली धानलगायतका बाली तथा लोपोन्मुख अवस्थामा रहेका मौरीका प्रजातिको संरक्षणमा काम गर्दै आउनुभएको छ । पुच्का, कचौरी, कालो भमरालगायतका प्रजाति तथा विभिन्न पक्षीको संरक्षणका लागि जिन बैंक निर्माण र संरक्षणमा उहाँ सङ्लग्न हुनुहुन्छ । परम्परागत कृषि ज्ञान, जैविक विविधताको संरक्षण र आधुनिक कृषि प्रणालीलाई जोडेर कृषि क्षेत्रलाई अघि बढाउनुपर्ने उहाँको मान्यता छ । पान खेतीको नमुना अभ्यासलाई वैज्ञानिक अनुसन्धान, सरकारी सहयोग र बजार व्यवस्थापनसँग जोड्नसके बाँकेका किसानका लागि नयाँ कृषि व्यवसायको बाटो खुल्नसक्ने उहाँको अपेक्षा छ । —
Powered By
Orson Infotech









प्रतिक्रिया