गण्डकी

सौराहामा पर्यटकको चहलपहल बढ्यो



नारायणगढ (चितवन), १० कात्तिक

पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । दसैँको आरम्भका दिनमा अपेक्षाअनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको छ । पर्यटकको आगमन बढेसँगै यहाँका होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत उत्साह थपिएको व्यवसायीले बताएका छन् । सौराहामा पर्यटन व्यवसाय गर्दै आउनुभएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायी उत्साहित भएको बताउनुभयो । पर्यटकको आगमन बढेपछि होटल तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन् । कोही सपिङ गर्न गएका छन्, कोही जङ्गल गएका छन्, कोही घुमफिरमा गएका छन् । सबैतिर चहलपहल र दौडधुप देखिन्छ ।” पर्यटकको आगमनले व्यवसायीको मुहारमा खुसी फर्किएको उल्लेख गर्दै उहाँले पछिल्लो समय पाहुनाको चाप बढेको बताउनुभयो । सौराहास्थित वाटिका रिसोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेषगरी आन्तरिक पर्यटकको आगमन बढेको बताउनुभयो । पाहुनाको सङ्ख्या बढेसँगै कोठा व्यवस्थापन र बुकिङ मिलाउन केही दिनअघिदेखि नै व्यस्तता बढेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार रिसोर्टमा रहेका सबै कोठा पछिल्ला दुई–तीन दिनदेखि भरिएका छन् । चाडपर्वका समयमा नेपाली पर्यटकको सङ्ख्या बढी देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाहुनालाई कोठा पु¥याउन निकै मुस्किल भइरहेको छ । व्यवस्थापनमा व्यस्तता बढेको छ । अहिले नेपाली पर्यटक नै बढी देखिन्छन् ।” पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यसपटक दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताउनुभयो । सार्वजनिक बिदा र चाडपर्वका कारण सौराहामा पर्यटकको चहलपहल बढेको उहाँको भनाइ छ । उहाँले सौराहा भ्रमणमा आउने पर्यटकका लागि जीप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा थारू सांस्कृतिक नाचलगायतका गतिविधि प्रमुख आकर्षण रहेको बताउनुभयो । अहिलेको मौसम सौराहा भ्रमणका लागि अनुकूल रहेको उल्लेख गर्दै उहाँले स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँ आउन आग्रह गर्नुभयो । सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि जीप सञ्चालनमा रहेका छन् । राप्ती नदीमा डुङ्गा सयर तथा हात्ती सफारीको व्यवस्था छ । डुङ्गा सयरका क्रममा नदीका विभिन्न जलचर तथा चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ । पर्यटकको मागअनुसार हात्ती सफारीलगायतका सेवा उपलब्ध गराइने तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ ।” यसले पर्यटन व्यवसायीलाई ठूलो राहत र नयाँ उत्साह दिएको उहाँको भनाइ छ । क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले दसैँको बिदाका समयमा सौराहालगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको बताउनुभयो । उहाँका अनुसार यसपटक आन्तरिकसँगै बाह्य पर्यटकको सङ्ख्या बढेको छ । उहाँले भन्नुभयो, “हामीलाई उत्साह थपेको छ । हिजो, आज सौराहालगायत विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या राम्रो पाएका छौँ ।” भोटेकोशीमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको उहाँले बताउनुभयो । बाढीपहिरो र सडकको अवस्थाका कारण पर्यटकका बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमन बढ्न थालेको उहाँको भनाइ छ । सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक हो । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा सौराहा परिचित छ । —

Powered By Orson Infot

प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६