अन्तर्राष्ट्रिय

चक्रवात अर्नबको जोखिम, भारतमा उद्धारकार्य तीव्र



नयाँदिल्ली, १० कात्तिक (रासस/एएफपी) :
भारतको आन्ध्र प्रदेशमा बुधबारसम्म शक्तिशाली चक्रवात अर्नबले तटीय क्षेत्रमा प्रहार गर्ने पूर्वानुमानपछि अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेका छन् । भारत मौसम विज्ञान विभाग (आइएमडी) ले चक्रवात तटमा पुग्दा प्रतिघण्टा १४० किलोमिटरसम्मको वेगमा हावा चल्न सक्ने जनाएको छ । विभागले मङ्गलबार जारी गरेको बुलेटिनमा अर्नबलाई ‘अति गम्भीर चक्रवाती आँधी’ का रूपमा तटमा प्रवेश गर्ने अनुमान गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशका अधिकारीहरूले तल्लो तथा बढी जोखिम भएका क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । केही जिल्लामा मङ्गलबारदेखि शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गरिएको छ । राज्यका मुख्यमन्त्री नारा चन्द्रबाबु नायडूले आँधीको निरन्तर निगरानी गर्न र पूर्वसावधानी अपनाउन निर्देशन दिनुभएको उहाँको कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । द इन्डियन एक्सप्रेस का अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने चार हजार सात सयभन्दा बढी गर्भवती महिलालाई अस्पतालमा सारिएको छ । भारतको मौसम विभागले चक्रवातका कारण कमजोर घरहरू पूर्ण रूपमा भत्किन सक्ने, स्थानीय क्षेत्रमा बाढी आउन सक्ने तथा बिजुली र सञ्चारका खम्बा ढल्न सक्ने चेतावनी दिएको छ । आँधीले खेतमा लगाइएका बालीमा पनि व्यापक क्षति पु¥याउन सक्ने विभागको अनुमान छ । बङ्गालको खाडी र उत्तरी हिन्द महासागरमा चक्रवात नियमित जोखिमका रूपमा रहँदै आएका छन् । उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई ‘हरिकेन’ र प्रशान्त महासागरमा ‘टाइफुन’ भनिन्छ । यसपटक एल निनो मौसमी घटनाले तापक्रम असाधारण रूपमा बढाएकाले आँधीको मौसम थप शक्तिशाली बनेको समाचारमा उल्लेख छ । यसैबीच, छिमेकी श्रीलङ्कामा पनि मुसलधारे वर्षाको चेतावनी जारी गरिएको छ । त्यहाँको मौसम विज्ञान विभागले आँधीका कारण आकस्मिक बाढी र पहिरो जान सक्ने जोखिम औँल्याउँदै विद्यालयहरू बन्द गरेको छ । कोलम्बोस्थित विपद् व्यवस्थापन केन्द्रका अनुसार सेनालाई पनि सतर्क अवस्थामा राखिएको छ । –––

प्रकाशित : ११ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६