तेहरान, ११ कात्तिक (रासस/सिन्ह्वा)
:
इरानसँगको शान्तिसम्बन्धी समझदारीलाई ‘समयको बर्बादी’ संज्ञा दिनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीले कूटनीतिप्रति वासिङ्टनको अनादर उजागर गरेको इरानले आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले बुधबार सामाजिक सञ्जाल एक्समार्फत यस्तो आरोप लगाउनुभएको हो । ट्रम्पले सोमबार मिसिसिपीमा आयोजित एक ¥यालीमा इरानसँग भएको युद्धविरामप्रति आफू सन्तुष्ट नरहेको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “हामीले इरानसँग एउटा सानो युद्धविराम गरेका थियौँ, जुन मलाई कहिल्यै खासै मन परेको थिएन । मैले त्यसलाई समयको बर्बादी नै ठानेको थिएँ । तर, कहिलेकाहीँ विज्ञहरूको कुरा सुन्नुपर्ने हुन्छ ।” ट्रम्पको उक्त टिप्पणीप्रति प्रतिक्रिया दिँदै बाघाईले कूटनीतिप्रति अमेरिकी प्रशासनको अनादर फेरि उजागर भएको बताउनुभयो । “राष्ट्रपति ट्रम्पले उक्त समझदारीमा आफूलाई कहिल्यै विश्वास नभएको र त्यसलाई समयको बर्बादी ठानेको स्वीकार्नुले अमेरिकी कूटनीतिक प्रतिबद्धताहरूको खोक्रोपन उजागर गरेको छ,” उहाँले लेख्नुभएको छ । अमेरिकाको आफ्ना प्रतिबद्धताबाट पछि हट्ने र अन्तरराष्ट्रिय दायित्व आफूलाई असुविधाजनक लाग्नेबित्तिकै तिनलाई त्याग्ने लामो इतिहास रहेको पनि बाघाईले आरोप लगाउनुभयो । उहाँले युरोपेली मुलुक र वासिङ्टनका अन्य समर्थकलाई अमेरिकी गलत कार्यको बचाउ गरिरहने तथा उसलाई जवाफदेहिताबाट उन्मुक्ति दिलाउने कुनै औचित्य नरहेको बताउनुभयो ।









प्रतिक्रिया