अर्थ-वाणिज्य

विद्युतीय सवारी चार्जिङ स्टेसन विस्तारआफ्नै भवन निर्माण र संस्थागत व्यवसाय विस्तारलाई प्राथमिकता



कपिलवस्तु १५ कात्तिक

२०६४ सालमा स्थापना भएको स्वाभिमान सहकारीले बचत तथा ऋण कारोबारलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएकोमा आर्थिक वर्ष २०८२÷०८३ देखि संस्थागत व्यवसाय विस्तारमा समेत कदम चालेको छ। संस्थाले आफ्नै जग्गामा विद्युतीय सवारी साधन चार्जिङ स्टेसन सञ्चालनमा ल्याएकोमा विस्तारको योजना समेत समावेश गरिएको अध्यक्ष घनश्याम घिमिरेले सभामा जानकारी गराउनु भयो ।
सहकारीलाई बचत संकलन र कर्जा प्रवाहमा मात्र सीमित नराखी संस्थागत आम्दानीका थप स्रोत पहिचान गर्ने उद्देश्यले व्यवसाय विविधीकरणको पहल गरिएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ। संस्थाको दिगोपन र आर्थिक सबलीकरणका लागि अन्य सम्भावित व्यवसायको समेत अध्ययन भइरहेको जनाइएको छ।
अध्यक्ष घिमिरेले संस्थाको हितमा हुने र सदस्यहरूलाई समेत लाभ पुग्ने सम्भावित लगानीका क्षेत्र पहिचान गर्न शेयर सदस्यहरूलाई सुझाव तथा योजना प्रस्तुत गर्न आग्रह गरेका छन्। संस्थाको आफ्नै भवन निर्माणको आवश्यकतालाई समेत प्राथमिकतामा राखिएको प्रतिवेदनमा उल्लेख छ।

१९ वर्षको सहकारी यात्राबाट २०औँ वर्षमा प्रवेश
२०६४ सालमा स्थापना भएको संस्थाले १९ वर्षको यात्रा पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ। यस अवधिमा सदस्यहरूको सामाजिक तथा आर्थिक उन्नतिलाई केन्द्रमा राखेर समयसापेक्ष सेवा तथा सुविधा प्रदान गर्दै आएको अध्यक्ष घिमिरेले बताएका छन्।
उनले सहकारी क्षेत्रलाई अर्थतन्त्रका तीन प्रमुख स्तम्भमध्ये एक महत्वपूर्ण स्तम्भका रूपमा उल्लेख गर्दै सहकारीका मूल्य, मान्यता र सिद्धान्त अनुसार संस्था सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सदस्यहरूको विश्वास, सहभागिता र सहकार्य नै संस्थाको प्रगति तथा दिगोपनको आधार भएको उनको भनाइ छ।


साधारण सभामा सचिव रमेश पन्थीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मनोहर कुमार योगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कोषाध्यक्ष योगीले सदस्यहरूले दिएको विश्वास र जिम्मेवारीलाई आत्मसात् गर्दै संस्थाको आर्थिक हितमा काम गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रतिवेदन माथि सुझाव, सल्लाह र आवश्यक छलफल गरी पारित गर्न आग्रह गरेका थिए।
त्यस्तै सभामा लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन लेखा संयोजक टिकाराम पौडेलले प्रस्तुत गर्नु भएको थियो ।
सहकारीको आगामी यात्रालाई थप व्यवस्थित, पारदर्शी र सदस्य केन्द्रित बनाउँदै संस्थागत व्यवसाय विस्तार, आफ्नै भवन निर्माण तथा आर्थिक दिगोपनलाई प्राथमिकतामा राख्ने लक्ष्य संस्थाले अघि सारेको छ।
संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा ६७ लाख १८ हजार ४१८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको कुल सम्पत्ति ३९ करोड ३ लाख ४३ हजार ६७० रुपैयाँ पुगेको छ।
संस्थाको १९औँ वार्षिक साधारणसभामा अध्यक्ष घनश्याम घिमिरेद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा ३६ करोड ५ लाख ३० हजार २५० रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षमा बढेर ३९ करोडभन्दा माथि पुगेको हो। यस अवधिमा संस्थाको कुल सम्पत्तिमा करिब २ करोड ९८ लाख रुपैयाँ वृद्धि भएको देखिन्छ।
त्यस्तै, संस्थाले समीक्षा अवधिमा ३ करोड १७ लाख २१ हजार रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा ३ करोड १ लाख ३२ हजार ५०४ रुपैयाँ आम्दानी गरेको संस्थाले यस वर्ष आम्दानीमा समेत वृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ। संस्थाको कुल खर्च २ करोड ५० लाख २० हजार रुपैयाँ रहेको छ।
प्रतिवेदनअनुसार संस्थाले ब्याज आम्दानीबाट २ करोड ७५ लाख २० हजार रुपैयाँ र अन्य स्रोतबाट ४२ लाख १ हजार रुपैयाँ आम्दानी गरेको छ। आयकर व्यवस्थापछिको खुद नाफा ६७ लाख १८ हजार ४१८ रुपैयाँ रहेको छ। उक्त नाफाबाट जगेडा कोषमा १६ लाख ७९ हजार ६०४ रुपैयाँ र अन्य कोषमा ५० लाख ३८ हजार ८१३ रुपैयाँ व्यवस्था गरिएको छ ।
साधारण सभामा संस्थाले असल ऋणी, असल बचतकर्ता लगायतका विभिन्न विधामा नगद सहित सम्मान गरेको थिया । सभामा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरको थियो ।
सहकारीमा हाल ९०३ सदस्य रहेका छन् । संस्थासाधारण सभा अध्यक्ष घनश्याम घिमिरेको अध्यक्षता, उपाध्यक्ष नवदत्त घिमिरेको स्वागत मन्तब्य र सचिव रमेश पन्थीको संचालनमा सम्पन्न भएको ब्यवस्थापक सागर घिमिरेले जानकारी दिनु भयो ।

सहकारी मार्फत नमुना काम भएका छन् प्रदेश सभा सदस्य पन्थी

लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थीले सहकारी क्षेत्रले नेपाली अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ।


उहाँले सहकारी मार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि र बजारीकरणमा नमुना योग्य काम गर्न सकिने धारणा व्यक्त गर्नुभयो। सहकारी क्षेत्रले आर्थिक तथा सामाजिक रूपान्तरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको चर्चा गर्दै उहाँले सहकारीलाई सदस्यहरूको बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उत्पादन र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो।
सहकारीको सामूहिक पुँजी, श्रम र सीपलाई उत्पादनमूलक क्षेत्रमा परिचालन मार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै आत्म निर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुग्ने उहाँको भनाइ थियो।
उहाँले सहकारी मार्फत सफल भएका नमुना अभ्यासलाई विस्तार गर्दै उत्पादन, रोजगारी र बजारबीच प्रभावकारी सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो।

प्रकाशित : १६ कार्तिक २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६