अन्तर्राष्ट्रिय

अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा



वासिङ्टन, १७ कात्तिक (रासस/एएनआई) :
अमेरिकी कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा प्रमुख राज्यहरूको राजनीतिक दिशा निर्धारण गर्ने गभर्नर पदका प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ । रिपब्लिकनहरू आफ्नो बहुमत जोगाउने प्रयासमा छन् भने डेमोक्रेटिक पार्टीका उम्मेदवारहरू टेक्सास, जर्जिया, मिशिगन र मेनलगायत राज्यमा सिनेटका महत्त्वपूर्ण सिट जित्ने रणनीतिमा छन् । खुला सिट र कडा प्रतिस्पर्धाका कारण नौ राज्यको निर्वाचन विशेष चासोमा परेको छ । टेक्सासमा रिपब्लिकन केन प्याक्सटन र डेमोक्रेटिक पार्टीका जेम्स तालारिकोबीच सिनेटका लागि प्रतिस्पर्धा छ । यसै राज्यमा रिपब्लिकन गभर्नर ग्रेग एबट चौथो कार्यकालका लागि डेमोक्रेटिक पार्टीकी गिना हिनोजोसासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । सन् १९८८ यता टेक्सासबाट कुनै डेमोक्रेटिक उम्मेदवार सिनेटमा निर्वाचित भएका छैनन् । ओहायोमा पूर्व डेमोक्रेटिक सिनेटर सेरोड ब्राउनले रिपब्लिकन जोन हस्टेडलाई चुनौती दिनुभएको छ । गभर्नर पदका लागि रिपब्लिकन विवेक रामास्वामी र डेमोक्रेटिक पार्टीकी एमी एक्टन प्रतिस्पर्धामा हुनुहुन्छ । मिशिगनमा सिनेटको रिक्त सिटका लागि रिपब्लिकन माइक रोजर्स र डेमोक्रेटिक पार्टीका अब्दुल एल–सायेदबीच प्रतिस्पर्धा छ । एल–सायेदलाई मुस्लिम ब्रदरहुडसँग जोड्ने आरोपको उहाँले खण्डन गर्नुभएको छ । गभर्नर पदमा डेमोक्रेटिक पार्टीकी जोसलीन बेन्सन र रिपब्लिकन जोन जेम्स भिड्दै हुनुहुन्छ । जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफले रिपब्लिकन माइक कोलिन्ससँग आफ्नो सिट जोगाउने प्रयास गर्दै हुनुहुन्छ । गभर्नर पदमा रिपब्लिकन रिक ज्याक्सन र डेमोक्रेटिक पार्टीकी केइशा ल्यान्स बटम्सबीच प्रतिस्पर्धा छ । आयोवामा सिनेटका लागि रिपब्लिकन एश्ले हिन्सन र डेमोक्रेटिक पार्टीका जोश टुरेक तथा गभर्नर पदमा डेमोक्रेटिक पार्टीका रोब स्यान्ड र रिपब्लिकन ज्याक लान प्रतिस्पर्धामा हुनुहुन्छ । विस्कन्सिनमा गभर्नर पदका लागि रिपब्लिकन टम टिफनी र डेमोक्रेटिक पार्टीका डेभिड क्राउलीबीच प्रतिस्पर्धा छ । नेभाडामा रिपब्लिकन गभर्नर जो लोम्बार्डो दोस्रो कार्यकालका लागि डेमोक्रेटिक पार्टीका आरोन फोर्डसँग भिड्दै हुनुहुन्छ । मेनमा रिपब्लिकन सिनेटर सुसान कोलिन्स र डेमोक्रेटिक पार्टीका ट्रोय ज्याक्सन प्रतिस्पर्धामा हुनुहुन्छ भने फ्लोरिडामा गभर्नर पदका लागि रिपब्लिकन बायरन डोनाल्ड्स र डेमोक्रेटिक पार्टीका डेभिड जोली तथा सिनेटका लागि रिपब्लिकन एश्ले मूडी र डेमोक्रेटिक पार्टीकी एन्जी निक्सनबीच प्रतिस्पर्धा छ । यी राज्यका सिनेट र गभर्नर पदका परिणामसँगै प्रतिनिधिसभाका निर्वाचनले पनि अमेरिकी कङ्ग्रेसमा शक्ति सन्तुलन निर्धारण गर्ने अपेक्षा गरिएको छ । –––

प्रकाशित : १८ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६