देश

भोटेकोशी बाढीका बेपत्ताका परिवारमा अझै अन्योल, सास र लासको आशा पनि मर्दै



राँझा (बाँके), १९ कात्तिक

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा आफन्त गुमाएका बाँकेका परिवारले बेपत्ताको सास वा लास भेटिने आशा क्रमशः मार्दै गएका छन् । बाढीमा आफन्त बेपत्ता भएको ७० दिन बितिसक्दा पनि कुनै खबर नआएपछि उनीहरू अन्योल र पीडामा छन् । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले बगाएर बेपत्ता पारेका आफन्तको अवस्था अझै अज्ञात रहेको नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बताउनुभयो । उहाँका दाजु, भाउजु र छोरा बाढीमा बेपत्ता भएका थिए । “७० दिनभन्दा बढी भयो, बेपत्ता भएका हाम्रा मान्छेको न त सास भेटिएको छ, न त लास नै । अब सास र लास भेटिने आशा मर्दै गएको छ”, उहाँले भन्नुभयो, “डिएनए परीक्षणको रिपोर्ट पनि आएको छैन । सरकारले मृत्यु घोषणा गरिदिए मृत्यु संस्कार गर्ने सोच बनाएका छौँ ।” आफन्तको मृत्यु संस्कारसमेत गर्न नपाउँदा पीडामाथि पीडा थपिएको उहाँले बताउनुभयो । बेपत्ताको कुनै खबर नआउँदा यस वर्षको दसैँ र तिहार उहाँका लागि झन् पीडादायी बने । चाडपर्वका बेला बेपत्ता दाजु, भाउजु र छोराको सम्झनाले सताउने गरेको उहाँले सुनाउनुभयो । रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्दै आउनुभएका ५३ वर्षीय दाजु शेरसिंह रोकाय, ५६ वर्षीया भाउजु विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता हुनुभएको थियो । बुढेसकालको सहारा एक्लो छोरा र जीवनको आधार बनेका दाजु–भाउजु एकैपटक बेपत्ता भएपछि अनलाल र उहाँकी श्रीमती कर्णसरी रोकाय शोकमा छन् । लामो समयसम्म पनि आफन्तको अवस्था पत्ता नलाग्दा परिवारमा निराशा बढ्दै गएको छ । “हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा अब मर्दै गएको छ । न सास पाइयो, न लास नै । दोधारमै समय बितिरहेको छ”, अनलालले भन्नुभयो, “दसैँ र तिहारमा मनभित्रको असह्य पीडा झन् बल्झिएर आउने गरेको छ ।” शव पहिचानका लागि डिएनए परीक्षणको नमुना दिएपछि आफन्तको अवस्था थाहा हुने आशा जागेको भए पनि अहिलेसम्म रिपोर्ट नआएको उहाँले बताउनुभयो । उहाँले नेपालगञ्जस्थित भेरी अस्पतालमा डिएनए परीक्षणका लागि नमुना दिनुभएको थियो । डिएनए परीक्षणको नतिजा र बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले आधिकारिक जानकारी नदिँदा परिवारले सामाजिक तथा धार्मिक संस्कार गर्न नसकेको उहाँको भनाइ छ । सरकारले मृत्यु भएको वा खोजी गर्दा पनि फेला पार्न नसकिएकोबारे आधिकारिक घोषणा गरेमा संस्कार गर्न सहज हुने उहाँले बताउनुभयो । “सास वा लास केहीको अत्तोपत्तो छैन । के आधारमा सामाजिक संस्कार गर्ने भन्ने दोधारमा छौँ”, उहाँले भन्नुभयो, “हामी डिएनए रिपोर्टको प्रतीक्षामा छौँ । सरकारले आधिकारिक रूपमा मृत वा फेला पार्न नसकिएको घोषणा गरेपछि मात्रै सामाजिक संस्कार गर्ने सोच बनाएका छौँ ।” सोही बाढीमा परी थपुवाका आराम दमाईं र उजना दमाईं पनि बेपत्ता हुनुभएको थियो । रोजीरोटीका लागि रसुवा पुग्नुभएका उहाँहरूका १६ वर्षीय छोरा सुभास नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमाबुवा फर्किने आशामा दिन बिताइरहेका छन् । थपुवाका दुवै परिवारमा चाडपर्वसमेत शोकमा बितेका छन् । बेपत्ता परिवारको सामाजिक तथा धार्मिक संस्कार गर्न र उनीहरूमा रहेको अन्योल अन्त्य गर्न डिएनए परीक्षणको नतिजा शीघ्र सार्वजनिक गर्नुका साथै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बताउनुभयो । भोटेकोशी बाढीमा परी बाँकेका २३ जना अझै बेपत्ता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म तीन जनाको शव पहिचान भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ । —

प्रकाशित : २० कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६