अन्तर्राष्ट्रिय

होर्मुज खोल्न इरानका सर्त पूरा गर्नुपर्ने तेहरानको अडान



तेहरान, २४ कात्तिक (रासस/एएफपी):


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठ महिनादेखि जारी युद्ध अन्त्य गर्ने दिशामा ‘सकारात्मक गति’ देखिएको बताइरहेका बेला इरानले स्ट्रेट अफ होर्मुज पुनः खोल्न अमेरिकाले आफ्ना माग पूरा गर्नुपर्ने जनाएको छ । कतार र पाकिस्तानले मध्यपूर्वको युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अघि बढाइरहेका छन् । फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि युद्ध सुरु भएको थियो । इरानले अमेरिकाले आफ्ना सर्त पूरा गरेमा द्वन्द्व सुरु भएदेखि बन्द रहेको विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्ग होर्मुज दुई दिनभित्र खुला गर्न सकिने जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानी समाचार संस्था इर्नासँग कुरा गर्दै सैन्य कारबाही वा थप प्रतिबन्धबाट द्वन्द्व समाधान नहुने बताउनुभयो । इरानका माग सम्बोधन गर्दै कूटनीतिक वार्तामा सहभागी हुनु नै समस्याको समाधान भएको उहाँको भनाइ थियो । इरानका सर्तमा सबै मोर्चामा युद्ध अन्त्य, रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा, तेल निर्यातमाथिका प्रतिबन्ध हटाउने तथा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी अन्त्य गर्नुपर्ने माग समावेश छन् । यसअघि सोमबार कतारका प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्पले युद्ध अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको बताउनुभएको थियो । मध्यावधि निर्वाचनमा आफ्नो रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि वासिङ्टनले इरानमाथि पुनः आक्रमण गर्ने धम्की कम गरेको देखिएको छ । सामाजिक सञ्जालमा ट्रम्पले अमेरिका पूर्ण तयारी अवस्थामा रहेको उल्लेख गर्दै खाडी क्षेत्रका सहयोगी राष्ट्रहरू यथास्थिति कायम राख्न चाहेकाले थप आक्रमणको सम्भावना न्यून रहेको बताउनुभयो । अमेरिकाको हित सुरक्षित राख्दै युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक गति देखिएको उहाँको भनाइ थियो । कतारका विदेश मन्त्रालयका अधिकारी इब्राहिम अल–हास्मीले पनि वार्तामा प्रगति भएको बताउनुभएको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षका अडानबीचको दूरी घटाउन निरन्तर प्रयास गरिरहेको र आफूहरू आशावादी रहेको उहाँले बताउनुभयो । इरानी राजनीतिक विश्लेषक अली बिगदेलीले अमेरिकी मध्यावधि निर्वाचनपछि वासिङ्टन वार्तामा केही लचिलो देखिएको बताउनुभयो । तर, इरानका माग अमेरिकाका लागि स्वीकार गर्न कठिन रहेको उहाँको भनाइ थियो । दुवै देशबीचको गहिरो अविश्वासका कारण समाधान जटिल बनेको उहाँले उल्लेख गर्नुभयो । यसैबीच, इरानका सुरक्षा अधिकारी मोहसेन रेजाईले अमेरिकालाई इरानी माग स्वीकार गरी युद्ध अन्त्य गर्न आग्रह गर्नुभएको छ । युद्ध पुनः सुरु हुन सक्ने आशङ्काले खाडी क्षेत्रका राष्ट्रहरू पनि चिन्तित छन् । संयुक्त अरब इमिरेट्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले कूटनीतिक समाधानमार्फत खाडी क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम हुने आशा व्यक्त गर्नुभयो । यद्यपि, लामो समयसम्म अनिश्चितता कायम रहे निर्णायक समाधान र क्षेत्रीय स्थिरता दुवै प्रभावित हुने उहाँको चेतावनी थियो । यसैबीच, साउदी अरबको राजधानी रियादमा विस्फोटका आवाज सुनिएका छन् । साउदी नेतृत्वको गठबन्धनले यमनका हुथी विद्रोहीले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र बीचैमा निष्क्रिय पारेको जनाएको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानविरुद्धको सैन्य अभियान अझै पूरा नभएको बताउनुभएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिनुभएको छ । तर, ट्रम्पले यस्तो आक्रमणलाई समर्थन गर्नुहुन्छ वा हुन्न भन्ने स्पष्ट भइसकेको छैन । —

प्रकाशित : २५ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६