देश

परम्परागत कोगटी खेतीबाट आयआर्जनमा जुट्दै भोजपुरका किसान



भोजपुर, २८ कात्तिक

भोजपुरको अरुण गाउँपालिकाका स्थानीयवासी हराउँदै गएको परम्परागत कोगटी खेतीको संरक्षणसँगै आयआर्जनमा जुटेका छन् । परम्परागत खेतीलाई व्यावसायिक रूपमा अघि बढाउँदै स्थानीय उत्पादनबाट आर्थिक लाभ लिन किसान कोगटी खेतीमा सक्रिय भएका हुन् । अरुण गाउँपालिका–६ का वडाध्यक्ष गणेश राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी र चोम्ताङ क्षेत्रमा कोगटी खेती बढी हुने गरेको छ । ती क्षेत्रका २५ देखि ३० घरधुरीले व्यावसायिक रूपमा कोगटी खेती गर्दै आएका छन् । वडाले पनि परम्परागत रूपमा गर्दै आएको कोगटीबाट कपडा बनाउने तथा खेती प्रणालीलाई संरक्षणमा जोड दिएको उहाँको भनाइ छ । कोगटीबाट तयार गरिएको हातले बुनेको कपडाको बजारमा राम्रो मूल्य पाउने भएपछि किसान यस खेतीप्रति आकर्षित भएका छन् । अरुण गाउँपालिकाका किसान देवकुमार राईले कोगटीबाट तयार गरिएको एक थान दौरा सुरुवालको कपडा रु २५ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने बताउनुभयो । कोगटीको हातले तयार गरिएको दौरा सुरुवालको बढी माग हुने गरेको उहाँको भनाइ छ । यस खेतीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी हुने गरेको राईले जानकारी दिनुभयो । “कोगटी खेती हाम्रो आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “लोप हुँदै गएको कोगटी खेतीको संरक्षणसँगै आयआर्जन बढाउने उद्देश्यले हामी यसको खेतीमा जुटेका छौँ ।” कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन गरिन्छ । उत्पादित धागोलाई परम्परागत तानमा बुनेर दौरा–सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा तयार गरिन्छ । स्थानीयस्तरमा उत्पादन हुने कोगटीका कपडाको बजारमा माग राम्रो रहेको कृषक दर्जकुमार राईले बताउनुभयो । उहाँका अनुसार किसान यो क्षेत्रमा समूह गठन गरेर सामूहिक कोगटी खेती गर्दै आएका छन् । कोगटी खेतीको संरक्षण तथा विस्तारका लागि गाउँपालिकाले किसानलाई उन्नत जातका बीउ, खेतीका लागि आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै जनाएको छ । कोगटीबाट उत्पादित धागोको प्रयोग गरी हातबाट कपडा तयार गर्ने सीप विकासका लागि तालिम सञ्चालनसँगै किसानलाई आवश्यक सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभयो । परम्परागत कोगटी खेतीको संरक्षण, उत्पादन वृद्धि र कपडा निर्माणसम्बन्धी सीप विकासमार्फत स्थानीय किसानको आयआर्जन बढाउने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ । –––

प्रकाशित : २९ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६