देश

जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँः सभापति लामिछाने



जनकपुरधाम, २८ कात्तिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा रास्वपाले आज जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अब जनताका बीचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताउनुभयो । जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान नदिने उल्लेख गर्दै सभापति लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ ।” पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पुर्‍याउने उद्देश्य राखेको उहाँको भनाइ थियो । “यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो”, उहाँले भन्नुभयो । सभापति लामिछानेले जनताको हितका सवालमा आफ्नो पार्टीको सरकार भए पनि वा अर्को पार्टीको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताउनुभयो । यसलाई उहाँले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गर्नुभयो । उहाँले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन आज जनकपुरधाम आइपुग्नुभएको हो । —

प्रकाशित : २९ कार्तिक २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६