गण्डकी

५० लाख खर्चेर धर्मपथ पैदलमार्ग निर्माण



बागलुङ ६ मङ्सिर

बागलुङ नगरपालिका–४ कुडुँलको दारेगौडादेखि कालीगण्डकी नदीको ढोडेनीसम्म रु ५० लाखको लागतमा धर्मपथ पैदलमार्ग निर्माण गरिएको छ । स्थानीयवासीको चन्दा तथा बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा करिब एक किलोमिटर लामो पैदलमार्ग निर्माण गरिएको हो । पैदलमार्ग बनेपछि यसअघि भीर र पहाडको बाटो हुँदै आवतजावत गर्नुपर्ने स्थानीय तथा कालीगण्डकीमा स्नान गर्न जाने यात्रुलाई सहज भएको छ । पैदलमार्ग निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार २०८२ साल माघ १९ गते सुरु भएको निर्माण कार्य २०८३ साल कात्तिक २२ गते सम्पन्न भएको हो । पैदलमार्गमा चार वटा विश्रामस्थल, तीन वटा पानी ट्याङ्की र भगवान् शिवको मूर्ति स्थापना गरिएको छ । नगरपालिकाबाट रु तीन लाख, एकीकृत सेवा कार्यालय बागलुङबाट रु पाँच लाख तथा बाँकी रकम स्थानीयवासी र सहयोगदाताबाट जुटाइएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । पैदलमार्ग निर्माणबाट कुडुँले, छापा, सीमा, लमगाउँ, ठूलास्वाँरा र रमेटार क्षेत्रका बासिन्दा लाभान्वित हुने समितिले जनाएको छ । विशेषगरी कालीगण्डकी नदी किनारमा शवदाहका लागि शव पुर्‍याउन, घाँसदाउरा गर्न, खेतीपातीमा जान तथा दैनिक आवतजावत गर्न सहज हुने अध्यक्ष आचार्यले बताउनुभयो । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नारासहित स्थानीयवासीको सक्रियतामा पैदलमार्ग निर्माण गरिएको हो । यसले धार्मिक तथा सामाजिक गतिविधिका साथै स्थानीयको दैनिक जीवनयापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । पैदलमार्गको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । उहाँले सरकारी लगानीको तुलनामा स्थानीयवासीको ठूलो योगदानमा निर्माण भएको यस पैदलमार्गले विकास निर्माणमा सामुदायिक सहभागिताको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । —

प्रकाशित : ७ मंसिर २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६